१९ आश्विन २०७५, शुक्रबार
  • राजु पौडेल,

झापा, १९ असोज । भारततिरबाट नेपाल प्रवेश गर्ने हुलका हुल हात्तीले सास्ती दिन छोडेपनि रैथाने हात्तीले भने स्थानीयलाई हैरान पार्न सुरु गरेको छ । झापाको दमक स्थित उत्तरी क्षेत्रका दुई वटा वडामा केहि समययता जंगली हात्ती मानव बस्तिमा पसेर बितण्डा मच्याउन थालेपछि स्थानीय हैरान भएका हुन् । जंगली हात्ती गाउँमा बसेर विनाश समेत गर्न थालेपछि स्थानीय आतंकित बन्न थालेका छन् ।

दमक चोकबाट करिब १२ किलोमीटर उत्तरमा पर्ने हम्सेदुम्से सामुदायिक वनको क्षेत्र छ । सोही वनबाट जंगली हात्ती मानव बस्तिमा प्रबेश गरेर सास्ती दिने गरेको छ । जंगली हात्ती मानव बस्तिमा पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने गरेको स्थानीय बताउँछन् । ‘यहाँबाट भुटानी शिविर हटेपछि एक वर्षयता हात्तीले हैरान पारिसकेको कुरा स्थानीय कुलबहादुर विकले भने । उनले भने, ‘कत्ति बेला जंगलबाट आउछ, ज्यान जोगाउन पनि गाह्रो भयो ।’

यो ठाउँमा हात्तीले बितण्डा मच्याएको यो पटक नै पहिलो भने होइन । जंगली हात्ती गाउँमा पस्न थालेपछि यहाँका स्थानिय बासिन्दा हात्तीको बासस्थान खोज्दै नजिकैको जंगल भित्रै गएर हात्ती भगाउन थालेका छन् । डोजरको सहायतमा सयांैको संख्यामा नागरिक हात्ती खोज्दै जंगल पस्ने गर्छन् । ‘रातको समयमा हात्ती गाउँमा पस्छ’ स्थानीय पदमलाल तामाङले भने, ‘कति रात त निदाउन पाएका छैनौं ।’

रातको समयमा हात्ती गाउँमा पसेर धानबाली नष्ट गर्न थालेपछि स्थानीय पुल्ठो बालेर, भजनकिर्तन गरेर रातभरी नै जागा बस्छन् । स्थानीय सरकारले भने हात्ती प्रभावित क्षेत्रका लागी दिगो समाधानका उपाय निकालेर कार्यान्वयन गर्ने आश्वासन मात्र दिने गरेको छ । ‘दिगो रुपमा कसरी समस्या समाधान गर्ने भनेर कार्ययोजना बनाउछौं’ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने, ‘तत्कालका लागि अहिले आफैं सर्तक रहनुपर्ने अवस्था छ ।’

दमककको उत्तरी क्षेत्रका बासिन्दा दिनमा काम र रातमा जाग्राम बसेर आफ्नो दैनिकी कटाईरहेका छन् । हात्तीकै कारण यस ठाउँका दर्जन भन्दा बढिलाई घरबारबिहिन भएका छन् भने हरेक वर्ष लाखाँैको क्षती समेत गरिरहेको छ ।

नागरिकले वर्षभरी खानका लागि भण्डार गरेर राखेको अन्न हात्तीले नै नष्ट गरिदिदा स्थानीय थप मारमा परेका छन् । त्यसैले उनिहरुले हात्तीले दिने सास्तीको दिगो समाधानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV