१९ आश्विन २०७५, शुक्रबार

चितवन। चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीका बासिन्दाले वन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ ।

निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गर्दछन् । माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका छैनन् । सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा पर्ने माडी धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो । माडीको पूर्वी क्षेत्रमा ठोरी गाउँपालिकाको मध्यवर्ती वन, पश्चिममा भारतीय सीमामा जोडिएको वन, उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा चुरे पहाड र भारतीय सीमा क्षेत्र पर्दछ ।

यी सबै क्षेत्र वन्यजन्तु आवतजावत गर्ने महत्वपूर्ण क्षेत्र हुन् । यसकै कारण माडीवासीले वर्षभरी नै त्रासमा जीवन बिताउनु परेको छ । वर्षेनी दर्जनौं व्यक्ति वन्यजन्तुबाट मारिन्छन् भने सयौं घाइते हुन्छन् । खेतीबाली जोगाउन माडीवासीलाई धौधौ हुन्छ । यिनै वन्यजन्तु देखाएर आर्जन हुने आम्दानी यहाँका बासिन्दाले पाउन सकेका छैनन् । निकुञ्जसँगै सोमेश्वर, सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक (परशुराम कुण्ड), पाण्डवनगर, बैकुण्ठेश्वर धाम एवं महादेव मन्दिर, सीता गुफा, विक्रमबाबा जस्ता महत्वपूर्ण धार्मिकस्थल माडी क्षेत्रमा रहेका छन् ।

धार्मिक दृष्टिले माडीमा रहेका सबै क्षेत्र उत्तिनै महत्वपूर्ण रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउनुहुन्छ । साविकका गर्दी, बघौडा, कल्याणपुर र वसन्तपुर गाविसलाई मिलाएर बनेको माडी नगरपालिकाको जनसङ्ख्या ४३ हजार रहेको छ । बघौडा र गर्दीमा आधा जनसङ्ख्या आदिवासीको रहेको छ । अन्य दुई गाविसका बासिन्दाले २०१८ सालमा पूर्जी प्राप्त गरी बसोबास गरेका हुन् । थारु, गुरुङ, मगरलगायतको बसोबास रहेकाले पर्यटकीय सम्भावना अत्याधिक छ । हालसम्म माडी क्षेत्रबाट जीप र हात्ती सफारी जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन । वनकट्टा क्षेत्रबाट १.५ किलोमिटर दूरीमा सुकीभार क्षेत्र छ । सो क्षेत्र एकसिंगे गैंडाको अधिक बासस्थान भएको क्षेत्र हो । सो क्षेत्रमा हात्तीसफारीको व्यवस्था गर्न लागेको नगर प्रमुख ढकाल बताउनुहुन्छ ।

भारतीय सीमा क्षेत्रमा रहेको सोमेश्वर गढीमा गोलपार्क निर्माण गरी दुवै देशको झण्डा राखेर पर्यटकीय स्थल बनाउन विस्तृत अध्ययन भइरहेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई समेत सो क्षेत्रको भ्रमण गराई पार्क निर्माण गर्ने तयारीमा रहेको ढकालले बताउनुभयो । त्यसैगरी बैकुण्ठेश्वर धाममा प्रदेश सरकारको लगानीमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी विकास गर्ने प्रक्रिया अघि बढाइएको छ । हरेक वर्ष बाला चर्तुदर्शीमा यहाँ ठूलो मेला लाग्छ । उक्त क्षेत्रमा मन्दिर र झरना रहेका छन् । उद्यान निर्माण गरी व्यवस्थित गरिने ढकालले बताउनुभयो ।

सशस्त्र द्वन्द्वमा ३८ जनाको ज्यान गएको बाँदरमुढेमा युद्धकालिन पार्क निर्माण गरिँदै छ । प्रमुख ढकालकाअनुसार पार्क निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भएको छ । रु आठ करोडको लागतमा पार्क निर्माण गर्ने तयारी भइरहेको छ । पर्यटकीय होटल निर्माण गर्न ऋणदेखि कर छुटको व्यवस्था नगरपालिकाले गरेको छ । पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले माडीको शिवद्वार र पाण्डवनगरमा रहेका घरबास (होमस्टे)ले पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभयो । बघौडामा घरबास बन्दै छ । पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।

भरतपुरबाट निकुञ्ज हुँदै माडी जानुपर्ने बाध्यता छ । जहाँ चौबीसै घण्टा यातायातको पहुँच छैन । निकुञ्ज क्षेत्रमा रातीको समयमा यातायात सञ्चालन गर्न नपाउँदा सो क्षेत्रमा पर्यटक आवागमनमा बाधा पुगेको छ । यसै क्षेत्रबाट निर्वाचित सांसद एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकुञ्ज क्षेत्रमा आकाशे पुल निर्माण गर्नुपर्ने बताउँदै आउनुभएको छ । हालसम्म उक्त कार्यले गति लिन सकेको छैन । निकुञ्जमा ओभरफ्लाई निर्माण गर्न सक्ने हो भने माडीको विकासमा कोशेढुङ्गा सावित हुने माडीवासी बताउँछन् । यसले पर्यटकीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

सोही क्षेत्रबाट संविधानसभाको निर्वाचनमा निर्वाचित भई मन्त्रीसमेत बन्नु भएका बिक्रम पाण्डे माडीका जनता रिउ खोला र जङ्गली जनावरबाट पीडित बनेको बताउनुहुन्छ । रिउ खोलामा तटबन्ध गरेर नदी नियन्त्रणसँगै वन्यजन्तु अवलोकन मार्ग निर्माण गर्नुपर्ने बताउनुहुन्छ । वन्यजन्तु बस्ती पस्न पाउँदैनन् भने पर्यटकले सजिलै वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । खोलामा पानी खान आउने वन्यजन्तुलाई तटबन्धसँगै निर्माण गरिने सडकबाट सहजै अवलोकन गर्न सकिने उहाँको भनाइ छ । माडीलाई देशकै नमूना पर्यटकीय गन्तव्य बनाउन सकिने पाण्डे बताउनुहुन्छ ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदी पर्यटन विकासका लागि आवश्यक पर्ने आकर्षक सम्पदा हुँदा हुँदै माडी क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताउनुहुन्छ । आन्तरिक पर्यटकलाई प्राथमिकता दिई होमस्टे तथा सामुदायिक गेष्ट हाउसबाट आवास व्यवस्था गर्दै ठूला होटल स्थापना गर्नुपर्ने उहाँको सुझाव छ । माडीको भौगोलिक अवस्था अनुरुप यसको महत्व धार्मिक स्थल, वन, वन्यजन्तु एवं जनसमुदायसँग गासिएको छ । यहाँको ऐतिहासिक, धार्मिक स्थल तथा प्राकृतिक उपहारलाई अवसरको रुपमा सदुपयोग गर्दै प्रभावकारी योजना तर्जुमा गर्नुपर्ने उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा औद्योगिक विकास गर्न नसकिने हुँदा वन्यजन्तुको जोखिमलाई व्यवस्थापन गरी पर्यटन उद्योगको विकास गर्न सकिन्छ । राज्यले भौतिक पूर्वाधार विकास तथा लगानीमैत्री नीति तर्जुमा गर्नुपर्ने, नीजि क्षेत्रले नेतृत्व र लगानी गर्नुपर्ने, स्थानीय बासिन्दा पर्यटन मैत्री भएमा संरक्षणमा आधारित पर्यटन विकासबाट पर्यटनको प्रतिफल स्थानीयवासीमा पु¥याएर माडी क्षेत्रले आर्थिक समृृद्धि प्राप्त गर्न सकिने सुवेदीको ठहर छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV