१९ आश्विन २०७५, शुक्रबार

बिबिसी |

रूसविरूद्ध पश्चिमा राष्ट्रहरूले साइबर हमला गरेकाे भन्ने अाराेप बलियाे बनाउँदै लगेका छन्। यसै वर्षको सुरुमा चारजना संदिग्ध रुसी नागरिक कूटनीतिक राहदानीमा नेदर्ल्याण्ड्स पुगेको बताइएको छ।

अमेरिकी न्याय मन्त्रालयले सातजना रुसी एजेन्टको नामै तोकी अभियोग लगाएको छ भने ब्रिटेन तथा नेदर्ल्याण्ड्सका गुप्तचर निकायले गरेको संयुक्त कारबाहीमा चारजना रुसी गुप्तचर दोषी पाइएको बताइएको छ। तर रुसले भने ती आरोप अस्वीकार गरेको छ।

सातजना रुसीको नाम र चित्रसहित एफबीआइले सूची सार्वजनिक गरेको छ। उनीमाथि अमेरिकाको न्याय मन्त्रालयले सातजना रुसी गुप्तचर एजेन्टमाथि फिफा, खेलकूदमा लागु औषध प्रयोग निषेध गर्ने निकाय वाडा, तथा अमेरिकास्थित परमाणु ऊर्जा कम्पनीका प्रणालीहरूमा ह्याक गर्ने षडयन्त्र गरेको अाराेप लगाएको छ।

रुसी एजेन्ट

तीमध्येका चार जनाको नाम ब्रिटिश तथा डच गुप्तचर निकायले रुसी जासुस संस्था जी आर यु का एजेन्ट विरुद्ध गरेको संयुक्त कारबाहीका क्रममा पनि आएको छ। तिनीहरूमाथि हेगस्थित रसायनिक अस्त्र निषेध गर्ने निकाय ओपीसीडब्लुको कम्प्युटर ह्याक गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

नेदर्ल्याण्ड्सका गुप्तचर निकायका प्रमुखका अनुसार ती चारजना रुसी एप्रिल महिनामा कूटनीतिक राहदानीमा त्यहाँ आएका थिए। उनीहरूले सो निकायमाथि साइबर हमला गर्न खोजेको र त्यसलाई विफल पारिएको उनले बताए।

क्यानडाले पनि मन्ट्रियलस्थित वाडाको कार्यालयमा भएका साइबर हमला रुसी गुप्तचर निकायले गराएकोमा आफू विश्वस्त भएको जनाएको छ। सामान्यतया गुपचुप राखिने यस्ता विषयहरूबारे खुलेर बताउनुको अर्थ पश्चिमा राष्ट्रहरू मिलेर रुसका कारबाहीविरुद्ध लाग्न खोजेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV