१९ आश्विन २०७५, शुक्रबार

  • रिदम सिंह

बझाङ । बझाङ जिल्लाका अधिकांश ‘जिउला’हरुमा धान कटाइकाे राैनक सुरु भएको छ । जिल्लाका अधिकांश धान फल्ने जिउला अर्थात विशेष क्षेत्र, जहाँ  सिचाइँको पहुँच र सुविधा छ, यतिखेर धान भित्र्याउने चटारोमा छन् किसानहरु ।

सिचाइँका कारण बेलैमा राेपाइँ भएकाे हुँदा असोजको पहिलो सातादेखि नै जिल्लाको थलारा, छान्ना, रायल, बागथला, बुंगल तथा सदरमुकाम चैनपुर आसपासका क्षेत्रमा धान काट्न सुरु भएकाे हाे । धान बालि भित्राउने माैसम सुरु भएसंगै किसानहरु खेतीपाती भित्र्यानउनमै ब्यस्त भएका छन् भने परदेश (विशेषगरी भारत) गएकाहरु पनि फर्किन थालेका छन्  । किसानहरुका लागि यो समय सबैभन्दा ब्यस्त समय भएकाले भारतलगायत विभिन्न ठाउँमा रोजगारीका लागि बाहिर गएकाहरु घर फर्किन थालेका हुन् ।

यस याममा प्राय: मानिसहरू खेतबारीमै व्यस्त देखिन्छन् । मान्छेहरुसँग घरमा भन्दा खेतमै भेटघाट हुन्छ । असोजको पारिलो घाममा किसानहरुलार्इ घान काट्न, चुट्न, भित्र्याउन र पराल थन्क्याउन भ्यार्इनभ्यार्इ हुन्छ ।

किसान दाजुभाइ र अाफन्तसँग खेतमै हुने भेटघाट रमाईलो हुने गरेकाे भारतबाट फर्केका लोकेन्द्र सिंहले सुनाउनुभयो । दशैँ-तिहारजस्ता महत्वपूर्ण चाड पनि नजिकै आउनुका साथै खेतबारीमा लगाएको धान, कोदो, तिर्कुलो तथा अन्य दलहन बाली भित्र्याउने याम भएकाले राेजगारीका लागि बाहिर गएकाहरु फर्किने क्रम बढेकाे हाे । यो समय कृषक तथा परदेशीका लागि विशेष महत्वपूर्ण समय मानिन्छ ।


गाँउले भाषामा ‘मुरी रोपी पाथी फलाउने’ सिजन असारमा भए पनि पाकेको बाली भित्र्याउने समय असोज हाे । असारमा राेपाइँ सकेर भारत लगायतका क्षेत्रमा माैसमी राेजगारीका लागि गएकाहरु असाेजमा धानबाली भित्र्याउन र त्यसलगत्तै गहुँ छर्ने काम हुने भएकाले गाँउ फर्कने चलन रहेको छ ।

ढिलो गरी राेपाइँ भएका तथा आकासे पानीको भरमा रोपाइँ हुने ठाउँमा भने धान अलि ढिला पाक्ने भएका कारण त्यति ब्यस्तता छैन । विशेषगरी पाखाे र नदीकाे पानी नलाग्ने गाउँठाउँमा आकासे पानीको भर रोपाइँ गरिन्छ । पिमी भन्डार, पडेस मष्टा, तलकोटका केही भागमा भने अझै धान काट्ने काम सुरु भएको छैन ।

जिल्लामा सेती नदी, कालंगा नदी, जडारीगाडलगायतका साना नदी तथा गाडका छेउछाउमा खेत हुनेकाे भने धान पाकी सकेकाले कृषकहरु यतिखेर धान भित्र्याउने चटाराेमा छन् ।

जिल्लाका अरु गाडहरु वा खाेलाका किनारमा बस्ती भए पनि सिचाइँ कुलोकाे उचित व्यवस्था नहुँदा आकाशेपानीको मात्रै भर पर्नुपर्ने किसान भने सधैँ मारमा पर्ने गरेका छन् । ढिलो रोपाई हुने र धान पनि ढिलो पाक्ने भएकाले यस्ताे क्षेत्रमा किसानहरू सिँचाइकाे ब्यबस्था हुनुपर्ने बताउँछन् । त्यस्ता सिचाइँको सम्भावना भएका तथा कुलो, नहर निर्माण हुन सक्ने ठाउँमा समेत साेकाे पहल गरिदिन स्थानीय निकायहरूले चासो नदेखाएको किसान रामराज सिंहले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र प्रमुख राजन केसीका अनुसार आकाशे पानीको भरमा गरिने खेती अझै पाकेको छैन । अन्य रोपाई हुने ठाउँहरुमा असोजको तेस्रो अन्त्यसम्म जिल्लाको सबै क्षेत्रहरुमा बाली पाकिसक्ने अनुमान गरिएको छ ।

हाल जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत भागमा मात्र सिचाइँयोग्य खेतहरु रहेका छन् । ६५ प्रतिशत जमिन सिचाइँबाट बञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV