१८ आश्विन २०७५, बिहीबार

एमाले–माओवादी एकता घोषणाको एक वर्ष

यसरी एक वर्षअघि नेता तथा कार्यकर्ता समेत ‘सरप्राईज’ हुने गरी तत्कालिन नेकपा एमाले र माओवादीले पार्टी एकताको घोषणा गरेका थिए । पार्टीका दोस्रो तहका नेतालाई समेत थाहा नदिई दुई पार्टीका अध्यक्षः केपी शर्मा ओली र पुष्पकमल दाहाललायत केही शीर्ष नेताबीचको छलफलपछि पार्टी एकता घोषणा भएको थियो ।

स्थानीय तह निर्वाचनपछि र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि भएको पार्टी एकता घोषणाले राजनीतिक वृत्तमा निकै ठूलो तरंग ल्यायो । एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने भन्दै गरिएको एकता घोषणापछि मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दुबै दल एकै गठबन्धनसँगै साझा चुनावी घोषणापत्र बनाएर चुनाव लडे ।

गठबन्धनले करिब दुईतिहाई सिट जित्यो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा गठबन्धनलका उम्मेदवारले१ सय ७४ सिट जिते । एमालेले १ सय २१ र माओवादीले ५३ ठाउँमा जित हात पार्यो । राष्ट्रियसभामा पनि उनीहरुले क्रमश २७ र १२ सिट जिते । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई विस्थापित गर्दै एमाले–माओवादीसहितका दलहरुको सरकार बन्यो । सरकारको नेतृत्व तत्कालिन एमाले अध्यक्ष ओलीले गरे ।

सरकार निर्माणबेला भागबण्डा नमिलेर गठबन्धनमा खटपट आयो । एकताका लागि बनाइएको संयोजन समितिको बैठक बस्नै कठिन हुने स्थिति आयो । सुरुमा सरकारमा नगएको माओवादी सरकारमा सहभागी भयो । त्यसपछि पार्टीको नाम, चुनाव चिह्न, मागदर्शक सिद्दान्त, नेतृत्वलगायतमा विषयमा व्यापक विवाद भयो ।

छिट्टै पार्टी एक हुने बताएका नेताहरुको बोली फेरिन थाल्यो । नेताहरुको कार्यशैली र अभिव्यक्तिले एमाले–माओवादी एकता नै झिसमिसिने संकेत देखिन थाल्यो । त्यसका बाबजुत २०७५ जेठ ३ गते कम्युनिष्ट नेताद्वय स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवस पारेर पार्टी एकता भएको घोषणा भयो ।

पार्टीको नामः नेकपा कम्युनिष्ट पार्टी, चुनाव चिह्नः सूर्य, नेतृत्वः दुवै पार्टीका दुई अध्यक्ष रहनेगरी पार्टी एकता भयो । पार्टी एकतासँगै भदौसम्ममा सबै तहबीच एकता गर्ने भनिएको थियो । तर अहिलेसम्म पार्टी केन्द्रको पदाधिकारी र प्रदेश पदाधिकारीमात्रै टुंगिएको छ । जनवर्गीय संगठन, जिल्ला र स्थानीय तहसम्मको समायोजक कठिन देखिएको छ ।

खासगरी तत्कालिन दुबै पार्टीभित्रको गुट, उपगुट र सहायक गुटबीचको भागबण्डा नमिल्दा एमाले–माओवादीबीच तल्लो तहको एकीकरण प्रभावित भएको छ । जहाँ जहाँ एकीकरण टुंगियो भनिएको छ, त्यहाँ त्यहाँ पनि गुट–गुटबीचको विवाद कायमै छ । पछिल्लो समय नेकपा नेताहरुको अभिव्यक्तिले त ‘एकता प्रक्रिया नै प्रभावित हुने त होइन ?’ शंका बढाएको छ । एकता प्रक्रियामा भएको अलमलले नेकपा कार्यकर्ता निराश छन् भने नेकपाले नेतृत्व गरेको सकाकारको काम गराईबाट आमनागरिक सन्तुष्ट छैनन् ।

बढ्दो विवाद र एकता प्रक्रियामा अलमल

केहीदिनअघि नेकपा नेता माधवकुमार नेपालले संसदमा दिएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको जावफ हो, यो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेता नेपालले भावाभेगमा बहकिएर कुनै गीतांश सम्झनु स्वभाविक भएको प्रतिक्रिया दिएका हुन् । असोज ११ गतेको संसद बैठकमा नेता नेपालले ‘भावुक हुँदै’ ‘देश डुब्न लाग्यो’ भन्ने गीतांश सुनाउँदै पार्टी नेतृत्व र सरकारको आलोचना गरे ।

महत्वपूर्ण भूमिकामा रहेका यी नेताहरुको अभिव्यक्तिले नेकपाभित्र व्यपार अन्तरविरोध रहेको स्पष्ट पार्छ । तत्कालिन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुने घोषणा भएको एक वर्ष पुगेको छ भने पार्टी एकता भएको घोषणा भएको तीन महिना पूरा भएको छ । पार्टी एकता हुने घोषणा भएदेखि पार्टी एकता भएको घोषणा भएको अवधिमा दुई पार्टीका नेताबीच निकै रस्साकस्सी भयो । नेतृत्व, पदाधिकारी भागबण्डा, चुनाव चिह्न, पार्टीको मागदर्शक सिद्दान्त लगायत विषयमा दुबै पार्टीका नेताको मत बाझियो ।

सरकारमा सहभागी हुने र मन्त्रालयको भागबण्डा गर्ने विषयमा दुई पार्टीबीच बढेको टकराब सतहमै आयो । पटक–पटक पार्टी एकता भएको घोषणा गर्ने भन्दै मिति तय भयो । तर एकता हुन सकेन । अन्ततः विवाद सुल्झाउँदै र थाती राख्दै गत जेठ तीन गते पार्टी एकता भएको घोषणा भयो ।

पार्टी एकता हुँदा नेता झलनाथ खनाल विदेशमा थिए । वरीयतामा उनलाई माधवकुमार नेपालभन्दा पछि राखिएकोमा उनले चित्त दुखाए । त्यसयता पनि उनले पटकपटक सार्वजनिक रुपमै पार्टी एकताप्रक्रियाप्रति गुनासो गरिरहेका छन् ।

दुई जना पार्टी अध्यक्ष हुने गरी दुई पार्टीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तहसम्मको एकीकरण भने अलमलमा परेको छ । गुट, उपगुट र सहायक गुटको भागबण्डा नमिल्दा पार्टी एकता प्रक्रिया अलमलमा परेको हो । पार्टी एकताको घोषणा गर्दा साउन मसान्तसम्म सबै तहको नयाँ पार्टी संरचना गठन गरिसक्ने भनिएको थियो ।

तर, असोजको आधा महिनावितिसक्दा समेत तत्काल् तल्लो तह सम्मको पार्टी एकता टुंगिहाल्ने छाँट देखिएको छैन । विवादकैबीच केन्द्रीय पदाधिकारी र प्रदेश पदाधिकारी टुंगो लगाए पनि प्रदेश सदस्य, जिल्ला, स्थानीयत तह र जनवर्गाीय संगठनमा साविकका दुई पार्टीबीच भागबण्डा मिलिसकेको छैन । र, मिलिहाल्ने छनक पनि छैन ।

यो बीचमा पार्टी एकतामा प्रभावशाली भूमिका निर्बाह गरेका भनिएको नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिए । यसले नेकपाभित्रको विवादलाई सतहमै ल्याइदियो । अझ पछिल्लो समय नेताहरुबीच बढेको ‘वाकयुद्ध’ले पार्टी एकता प्रभावित हुने त होइन ? भन्ने शंका जन्माएको छ ।

नेताहरु अभिव्यक्ति र व्यवहारले प्रष्ट पार्छ कि, पार्टी एक भए पनि नेताको मन एक भएको छैन । तर नेकपाका केही नेताले भने हल्लामा आएजस्तो विवाद नभएको दाबी गर्दै आएका छन् । केही समस्या भए पनि हल्ला आएजस्तो गरी स्थिति नभड्किएको बताउँछन्, नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ ।

अहिले नेकपामा सैद्धान्तिक विषयभन्दा पद र प्रतिष्ठाको स्वार्थ हावी भएको प्रष्टै छ । जसको असर तल्लो तहको कमिटी गठनमा पनि परेको हो । तर नेकपाका प्रमुख सचेतक देव गुरुङ पनि समस्या स्वभाविक भएको तर छिटै समाधान हुने दावी गर्छन् ।

पछिल्लो समय विशेषतः एक पक्षले व्यक्त गरेको असन्तुष्टि र त्यसैको जगमा देशव्यापी जागरण अभियान चलाउने चेतावनीले नेकपामा के भइरहेको हो भन्नेमा कतिपय नेता नै अलमलमा छन् । तल्लो तहका कार्यकता शीर्ष नेताको बिवाद र गुतगत शैली देखेर निराश छन् । शीर्ष नेताको अभिव्यक्ति र कार्यशैलीप्रति नेकपामा केन्द्रीय नेताहरु नै सन्तुष्ट छैनन् ।
बा

नेकपामा बढ्दो विवादले कार्यकर्ता निराश छन् । र, पार्टी विवादको असर सरकारमा देखिएको छ । नेकपाले नेतृत्व गरेको सरकारप्रति आमनागरिक निराश छन् । दुईतिहाई बहुमत प्राप्त शक्तिशाली भनिएको सरकारप्रति नै नागरिक निराश हुनु र पार्टी भित्रको विवाद छताछुल्ल हुनु देश, आमनागरिक र नेकपा कार्यकर्ताका लागि दुखपूर्ण सत्य हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV