१८ आश्विन २०७५, बिहीबार

१८ असोज । कहिले काही कर्मको यात्रामा हिडेको बेला सोच्दै नसोचेको अवस्मरणीय घटना घट्दो रहेछ । यो कुरा हो, पूर्वी नेपालको जिल्ला खोटाङमा एउटा लघु फिल्मको सुटिङको यात्रालाई बिट मार्दै राजधानी फर्किने क्रममा बाटोमा घटेको सुखद घटना हो ।लघु फिल्मको सुटिङ गर्न भनी खोटाङ पुगेका थियौं ।

सुटिङ सकाएर हाम्रो टिम काठमाडौं फर्किदै थियो । हाम्रो टिममा म लगाएत जीवन बराल, कुसुम, बाल कलाकार कसिपका साथै दुई जना साना बहिनीहरु थियौं । साथमा यात्रा गर्ने अन्य पुरुष दाजुभाईहरु थिए । लघु फिल्मको काम सकेर १४ गते खोटाङबाट राजधानी फर्किदै थियौं । दिनको ११ बजेर पन्ध्र मिनेटमा गाडीले फर्किने समय दिएको थियो तर १२ बजेर ५४ मिनेटमा ड्राइभर दाईले हाईसलाई तीब्र गतिमा हुर्याउँदै आईपुगे । त्यसपछि राजधानीको हाम्रो यात्रा सुरुभयो । संगीतको तालमा ड्राइभर दाइले तीब्र गतिमा हाईस गुडाई रहनु भएको भने हामी हाईसमा बजिरहेको गीतको संगीतमा मग्न थियौं ।

बच्चा र बच्चाको आमा

गाडी गुडेको करिब डेढ घण्टापछि एक्कासी झ्यापै रोकियो । के भयो भनेर हामी यताउता नजर डुलाउद थाल्यौं । ठीक त्यतिबेला ड्राइभर दाईले एउटा समस्या पर्‍यो , एउटा बिमारीलाई काठमाडौं लानु पर्ने भो ! हजुरहरुले यतै ओर्लेर दश मिनेट जति कुर्नू पर्ने भो ईमर्जेन्सी छ, भन्नुभयो हामीले हुन्छ भन्ने सहमतीमा हाईसबाट झर्यौ ।

हामीलाई त्यही छोडेर ड्राइभर दाई बिमारी लिन जानुभयो । १० मिनेट भनेको गाडी दश मिनेट, बीस, पचास, एक घन्टा बितिसक्दा पनि गाडीको अत्तो पत्तो थिएन ? पछि गाउलेहरुबाट बुझ्दा उहाँ त दिक्तेल हस्पिटल पुग्नु भएछ, गाँउलेहरु संग कुरा बुझ्दा पछि थाहा भो कि ऊनी साधारण बिमारी थिईनन् रे !

कलाकार सरिता गिरी र बच्चा

खोटाङको अस्पतालले ५ दिन पछि डेलिभरी हुने डेट भएकी एक महिलालाई हामीबाट यो अप्रेशन सम्भव छैन, छिट्टै विमारीलाई काठमाडौं लानुस् भनेपछि हाम्रो गाडी उहाँलाई लिन फर्केको रहेछ ।

हामी चडेको गाडी राजधानी छुट्ने अन्तिम गाडी थियो, त्यसैले हामी पनि हतारिएका थियौ । अब त झन टेन्सन भयो बिरामीको कुराले, बल्ल बल्ल गाडी १ घन्टा ३० मिनेटमा बिमारी बोकेर आयो । हामी सबै एकछिन स्तब्ध भयौं, लगभग त्यो गाडीमा ड्राइभरका आफन्तहरु नै थिए । कोही बोलेनन् र बोल्ने कुरापनि भएन, एक त बिमारी सामान्य किसिमको बिमारी थिएन ।

पाँच दिनपछि ती महिलाको डेलिभरी डेट थियो, मलाई एकदमै डर लाग्यो बाटोमा केही भै हाल्यो भने के हुन्छ ? भनेर । म, जीवन र कुसुम रिसाउन थाल्यौ यस्तो अवस्थाको बिमारी यत्रो लामो कच्ची बाटोको यात्रा कसरी गर्न सक्छिन भनेर ? उनको श्रीमानले आश्वासन दिदै, ‘म छु चिन्ता नलिनुस्’ भन्नुभयो ।

म संगैका जिवन बरालले केही नबोली ड्राइभर दाईलाई भन्नुभयो । ‘अरु कुरा हामीलाई केही थाहा छैन हामीलाई राति घर घरमा पुर्याई दिनुपर्छ ।’ हामी केही नबोलि चढ्यौ, गाडी कच्ची बाटोमा आफ्नै रफ्तारमा काठमाडौं तर्फ दौडियो थाल्यो । गाडी भित्र सबै तै चुप मै चुप थिए । सबैको ध्यान ती गर्भवती महिला तिर थियो । म र कुसुम बेलाबेलामा मुखामुख गर्दै गरिरहेका थियौं । जति जति गाडी अगाडि बढ्यो, उति ती महिलालाई ब्यथाले च्याप्दै गरेको उनको अनुहारको हाउभाउबाट बुझ्न् सकिन्थ्यो ।

यात्राको लगभग ४ घण्टा पछाडि ती गर्भवती महिलालाई झन गाह्रो भईरहेको थियो । हामीले गाडी रोकेर उनिलाई ट्वालेटमा लगेर प्याड लगाई दियौं । रगत बगेर उनको सबै लुगा भिजिसकेको थियो । अब कुसुम र मलाई टेन्सन सुरु भयो, कुसुमले मलाई दिदी उनको पेट त झरेर तल आइसकेछ, उनको बच्चा त बाटैमा हुन्छ कि क्या हो ?

म झन आत्तिए, मैले उनको बुढालाई भने उनिसँग बोलिरहनु, हातमा मालिस गरिदिनु होला । बिचरा माया पनि लाग्यो, एउटी नारीले के कति सहने ? माया लागेर बिस्तारै हामीले उनलाई आफ्नो काखमा सुतायौं ।

म चाही धेरै बेर देखि डाक्टर अरुणा कार्की आन्टीलाई फोन सम्पर्क गर्दै थिए । यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर डाक्टर आन्टीको फोन नउठेपछि आकाक्षालाई फोन गर्न थाले । उस्को फोन पनि लागेन । करिब ३० मिनेटपछि आकांक्षाले म्यासेज पठाइन, म्यासेजमा ‘म क्लासमा छु, कल यु लेटर भनेर पठाईन ।

त्यतिबेला खोटाङ जिल्ला कटेर हामी ओखलढुङ्गा आइपुगेका थियौ । सबैको सल्लाह बमोजिम बिमारीलाई तातो सुप खुवाउन घुर्मीमा गाडी रोक्न लगायौं र करिब १५ मिनेट बिरामीलाई सुप खुवाएर, यात्रामा बिस्तारै अगाडि बढ्यौं । यात्रा अगाडि बढेको ५ मिनेटमा ओखलढुंगाको ट्याम्के खोलाको मुखैमा पुग्दा अचानक बच्चा जन्मियो । त्यतिबेला साझको ६ बजेर ४० मिनेट भएको थियोे ।

बच्चा जन्मेपछि बच्चासँग फोटो खिच्दै सरिता गिरी र जीवन बराल

गाडीलाई रोक्न ड्राइभर दाईलाई आग्रह गर्यौ । त्यतिबेला गाडी आधी खोलामा आधी खोलाको बगरमा पुगेको थियोे । त्यतिबेला सबैको होस् उड्यो, के गर्ने, के नगर्ने कसैलाई केहि थाहा थिएन ।

म अगाडि सरेर गाडीको ढोका खोल्दै उनी बसेको साइडमा गए, उनले लगाएको ट्राउजर खोलेको के थिए, बच्चाको आधा टाउको बाहिर आएको थियोे । त्यो देखेपछि मेरो दिमाग एकछिन सुन्य भयो, मेरो त्यत्रो आँट कहाँबाट आयो कुन्नि, खल्तिबाट मोबाईल झिके र डाक्टर अरुणा कार्की आन्टीलाई फोन गरे । नभन्दै अन्टिले दुई घण्टीमै फोन उठाउनु भयो ।

भगवानलाई धन्यवाद भन्दै आन्टीलाई त्यहाँको सबै घटना बेलिबिस्तार लाएर सुनाए । आन्टीले मलाई हौसला दिदै भन्नु भयो, ‘तिमी धेरै नआतिनु यो काम तिमीले पनि गर्न सक्छौ । बच्चालाई पहिला कपडाले न्यानो पार’ भन्नु भयो । एउटा हातले कानमा फोन च्याप्दै कुरा गर्दै गर्दा अर्को हातले आन्टीले भने बमोजिम नवजात बच्चालाई पुछ्दै न्यानो गर्न थाले ।

जीवनले सबैलाई मोबाईलको टर्च बाल्न आग्रह गरे, गाडीको सिटमा बच्चाको आमालाई कुसुमले पछाडिबाट सहयोग गरिन् । मेरो नजर सिधै बच्चामा गयो, ‘लु बधाई छ, तपाईको छोरा भएछ’ भन्दै बच्चाको आमालाई भन्दै गर्दा बच्चाकी आमा दंग भएको महशुस गरे ।

उता उनका बुढा पनि रुदै आमालाई फोनमा भन्दै भिए, ‘आमा बच्चा त खोलामा पो जन्मियो ।’ त्यसपछि डाक्टर आन्टीले मलाई भने बमोजिम गर्दै नाल
काट्ने र साल निकाल्ने काम सजिलै गरे । बच्चालाई सफा पारेर सफा कपडामा राखे, सबै काम राम्रोसँग फत्ते गरेर भर्खरै यो संसारमा सास लिदै गरेको बच्चा र आमा भएकोमा खुशी महशुस गरिरहेकी बच्चाकी आमासँग हामीले तस्बिर खिच्यौ ।

त्यसपछि एम्बुलेन्स बोलाएर भर्खरै जन्मेको छोरा र छोराको आमाबाबुलाई सकुशल रूपमा नजिकैको घुर्मी स्वास्थ चौकीमा थप उपचारका लागी पठायाैं । जाने बेलामा छोरोको बुबाले रुदै आभार ब्यक्त गरे ‘हजुरहरु हाम्रो लागि देउता हुनु भो, यस्तो बेलामा सहयोग गरेर जुनिभरकै गुन लगाउनु भयो ।’ हामीहरुले पनि बधाई दिदै उनलाई हौसला दिदै एक अर्काबाट छुट्टिएर आ-आफ्नो यात्रामा लाग्यौं ।

उनिहरूलाई पठाएपछि ड्राईभर दाई खोलामा गएर आफ्नो गाडी धुन थाले, म पनि आफ्नो लुगामा लागेको रगत धुन थाले । त्यही बेला म्यासेज आयो डाक्टर आन्टीले बधाई भन्दै उत्कृष्ट कार्यका लागि बधाई सहितको म्यासेज पठाउनु भएको रहेछ । त्यो म्यासेज पढ्दै गर्दा आफुले र संगैका साथी भाइहरुको सहयोगमा गरेको उत्कृष्ट कार्यले मनमनै खुशी भए, त्यतिकैमा आकांक्षाको फोन आयो । उसलाई पनि सबै कुरा बेलिबिस्तार लगाएर खोलाको डिलबाटै सुनाए । उसले पनि आन्टीले जसरी नै बधाई दिइन ।

यो घटनाले बलिउडको सर्वाधिक सफल फिल्म ‘थ्री इडिएट’को एकाएक याद आयो । यो हाम्रो यात्रा जिवनकै सबैभन्दा कठिन र उत्कृष्ट रह्यो, यो यात्रा हाम्रो जीवनको उत्कृष्ट एवं यादगर रहनेछ मनमनै सोचे ।

आ-आफ्नो सरसफाई गरेर फेरी राजधानीको यात्रामा हुइकियौं । त्यो यादगर पल अनि हाम्रो गाडी फेरी आफ्नो बाटो लाग्यौं । त्यो उत्कृष्ट पललाई यादगार बनाउन सहयोग गर्ने समयमै फोन उठाएर साथ सहयोग र हौसला प्रदान गर्ने आदरणीय डाक्टर अरुणा कार्की, अध्यारोमा मोबाइलको लाइटको ब्यवस्थापन गर्ने जीवन लगाएत गाडीका यात्री, ब्लेडको ब्यवस्था गर्नुहुने यात्रुहरू र धागोको ब्यवस्था गर्ने कुसुमलाई धेरै धेरै धन्यवाद दिन्छु चाहान्छु । साथै त्यो यादगार क्षणको साक्षी बनाउने ड्राइभर दाईलाई धेरै धेरै धन्यवाद । यसरी एउटा अविष्मरणिय यात्राको सुखद अन्त भयो ।

कलाकार सरिता गिरीको यात्रा स्मरण

प्रतिक्रिया दिनुहोस्

LIVE TV