१८ आश्विन २०७५, बिहीबार

काठमाडौं, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पाँच वर्ष चल्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दुई साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको उत्तरमा एउटा पनि नराम्रो काम नगरेको, राम्रो गर्ने प्रयास गरेको सरकारको मूल्यांकन सात महिनामै गर्न उपयुक्त नहुने बताउनु भएको हो ।

आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्ने र अर्को चुनावपछि झन् बलियो भएर आउने उहाँको दावी थियो । पात हल्लियो भनेर त्यसका पछाडि नदौडिन समेत आग्रह गर्नुभएका प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नरहेको पनि स्पष्ट पार्नुभयो ।

नेकपा अध्यक्षसमेत रहनुभएका ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएर प्रदेश कमिटी गठनमा रहेको असन्तुष्टि जनाउन स्थायी कमिटी सदस्यको भेला बोलाउनु भएको थियो । जसलाई प्रधानमन्त्री ओलीले धेरै तन्काउन नहुनेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले छोटो समयमा सरकारले विकास निर्माणका कामलाई अगाडि बढाएको र दुई छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध मजबुद बनाएको दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV