१८ आश्विन २०७५, बिहीबार
  • अमर काफ्ले,

सुनसरी, १८ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाभर विशेष सुरक्षा रणनीति लागु गर्न लागेको छ । चाडबाड नजिकिएसँगै निम्तन सक्ने सम्भावित सुरक्षा थ्रेटलाई मध्येनजर गर्दै सुनसरी प्रहरी विशेष रणनीति अवलम्बनको तयारीमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रदेश सरकारले उपलब्ध गराएको सुरक्षा योजना अनुरुपको बन्दोवस्ती मिलाउन लागेको जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले समग्र जिल्लाको शान्ति सु–ब्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा योजना लागु गर्न लागिएको बताएका छन् ।

एसपी अधिकारीका अनुसार आम सर्वसाधारणको हकमा भयरहित वातावरणमा सजहपूर्ण जीवनयापनको अवधारणा अनुरुपको सुरक्षा बन्दोवस्ती मिलाइने छ । जिल्लाभर लागु गर्न लागिएको विशेष सुरक्षा योजना मर्यादित र समृद्ध समाजको परिकल्पनालाई सार्थक तुल्याउन महत्वपूर्ण सावित हुने प्रहरी प्रमुख अधिकारीको विश्वास छ ।

जसअन्र्तगत प्रहरीले प्राथमिकता र आवश्यक्ताका विषय पहिचान गरि कतिपय योजना भने यसअघिबाटै लागु गरिसकेको छ । सार्वजनिक सूचना, माइकिङ, सचेतना कक्षा, हेल्प डेस्क जस्ता कार्यक्रम प्रहरीले सुरु गरिसकेको एसपी अधिकारीले जानकारी दिए । सुनसरी प्रहरीका अनुसार योजनाको विस्तृत विवरणका बारेमा भने पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ ।

पैदल गस्तीमा प्रहरी अधिकृत

सुनसरीमा प्रहरीले पैदल गस्तीलाई जोड दिएको छ । प्रहरीका अधिकृत वा सो सरहको उपस्थिती रहने गरी पैदल गस्तीलाई सुनसरी प्रहरीले कार्यान्वयनमा ल्याउन लागेको छ ।

जनतासँग प्रहरी भन्ने नारालाई सार्थक बनाउन सर्वसाधारणको सहजताकालागि नयाँ परिपाटीको बिकास गर्न लागेको प्रहरीले जनाएको छ । गस्तीमा समयानुकुल हुनेगरी प्रहरी उपरीक्षकका अलावा, प्रहरी नायब उपरीक्षक, निरीक्षक स्वयं गस्तीमा निस्कने छन् ।

सबैक्षेत्रमा एकैनासको गस्ती सम्भव हुन नसकेपनि सकेसम्म पायक पर्ने गरि अधिकृत वा सो सरहको उपस्थितीको प्रवन्ध मिलाइने छ ।

सीमामा निगरानी

सम्भावित आपराधिक गतिविधी नियन्त्रणकालागि सुनसरीका सिमावर्ती क्षेत्रमा प्रहरीले कडाई थालेको छ । शंकास्पद व्यक्तिमाथी निगरानी तथा चेकजाँचमा कडाई गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले सीमासहित मातहतका युनिटमा एकै व्यक्तिको लामो समय कमाण्ड नरहने गरि जनशक्ति व्यवस्थान तथा परिवर्तन गरेको जनाएको छ ।

जुवातास खेले खोरमा

जुवातास खेलेको पाइएमा त्यस्ताको हकमा सुनसरी प्रहरी कडा रुपमा प्रस्तुत हुने भएको छ । जुवातास खेल्ने परिपाटीको अन्त्य गर्न कडा कदम चाल्न लागिएको प्रहरीले जनाएको छ ।

चाडबाड नजिकिएसँगै जुवातास खेल्ने र खेलाउने क्रममा वृद्धि हुने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले हालसालको अवस्थाबाट नै विशेष निगरानी बढाउन थालिसकेको छ ।

जुवा तास खेलेको भेटिए प्रहरीले खेल्ने र खेलाउनेको हकमा पक्राउ गरी सार्वजनिक मुद्दा सम्मको कानुनी प्रकृया अघि बढाइने जनाएको छ ।
दशैं तिहारको समयमा तास, जुवा खेलेको पाइए पक्राउ गरी अनुसन्धानको क्रम अघि बढाउँदा खेल्ने र खेलाउनेको चाड खोरमै बित्न सक्ने अवस्थाको सीर्जना हुनसक्ने भएकाले सो तर्फ समेत प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ ।

भाडामा हुने ठगी नियन्त्रण गरिने

सुनसरी प्रहरीले सर्वसाधारण ठगीमा नपरुन भन्ने उद्येश्यसाथ भाडा दरमा एक रुपता कायम गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दुरी अनुसार तोकिएको भाडा दर सर्वसाधारणको हकमा जानकारी हुनेगरी टाँस गर्न लागेको हो ।

यातायात व्यवसायीसँगको छलफल पश्चात सवारीका साधनमा दुरी अनुसारको भाडा दरको सूचि टाँस गरिनुका साथै प्रमुख शहर तथा चोकहरुमा होडिङ बोर्डमा सूचि टाँस गरिने प्रहरीले जनाएको छ ।

भाडादरमा मनोमानी भए नभएको अनुगमनकालागि ट्राफिक प्रहरी परिचालन गरिने र ठगी गरेको पाइए त्यस्ताको हकमा जरिवाना सहितको कार्वाही गरिने प्रहरीले जनाएको छ ।

सीसी क्यामेरा जडानका लागि अपिल

शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका मात्र पर्याप्त हुँदैन् । जसका लागि स्वयं नागरिक समेत सचेत हुन जरुरी छ । सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रहरीले सुरक्षा थ्रेट रहन सक्ने अवस्थाको हकमा सर्वसाधारणलाई सीसी क्यामेरा जडान गर्न भनेको छ ।

बैंक, बित्तिय संस्था, बजार, शिक्षण संस्था, सरकारी कार्यालय सहित ब्यापारिक प्रतिष्ठानका हकमा अनिवार्य सीसी क्यामेरा जडान गर्न प्रहरीले सुझाएको छ । जडान गरिएका क्यामेरा बाहिरी दृष्य कैद हुने गरी व्यवस्था मिलाइनु पर्ने प्रहरीको भनाई छ ।

सुनचाँदी पसल सबैमा सीसी क्यामेरा

सुरक्षा संदेनशिलताको हिसाबले सुनचाँदी पसलहरु समेत अग्रस्थानमा पर्ने गर्छन् । इनरुवा नगरपालिकाभित्र ३५ वटाको संख्यामा सुनचाँदी पसलहरु छन् । धेरैजसो पसलले यसअघिनै सीसी क्यामेरा जडान गरिसकेका छन् ।

व्यवसायीहरुसँगको छलफल पश्चात बाँकी रहेका सबै पसलमा समेत क्यामेरा जडान गर्नेगरी समझदारी कायम गरिएको प्रहरीको भनाई छ ।

होटल निगरानीमा

होटलका आडमा हुन सक्ने आपराधिक कृयाकलाप र विकृती फैलन सक्ने गतिविधि नियन्त्रणका साथै मदिरा सेवन गरी होहल्ला गर्ने र कानुन उल्लंघन हुने जस्ता कृयाकलाप निर्मूल पार्न निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

ब्याजको प्रलोभनमा नपर्न आग्रह

प्रहरीले संघसंस्था र कम्पनीका नाममा हुने ठगीबाट सजग रहन सर्वसाधारणमा आग्रह गरेको छ । ब्याजको प्रलोभनमा परी रकम जम्मा गर्दा एकमुस्ट धनराशी कुमल्याएर फरार हुने क्रम बढेको भन्दै वास्तविकता नबुझी भ्रममा नपर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको हो ।

यसैगरी सुनसरी प्रहरीले यात्रु सहायता कक्षसहित सवारी चालकहरुकाहकमा रिफ्रेसमेन्ट सेन्टरसहित आवश्यक चेकजाँचका लागि धरान, इटहरी र इनरुवासहितका जिल्लाका मूख्य बजारमा पर्याप्त बन्दोवस्ती मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV