१८ आश्विन २०७५, बिहीबार

देवराज पन्त

हेटौंडा, असोज १८ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटै सरकार एकआपसमा नमिलेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारको अपमान गर्ने स्थानीय तहलाई प्रदेश सरकारबाट प्रदान गरिने सुविधाबाट वञ्चित गराइने चेतावनी दिदै संघीयताको स्थायित्वका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो जिल्ला सभा तथा वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बोकेको विकास भौतिक विकास मात्रै नभएको बताउँदै आम जनतालाई समृद्ध बनाउने तर्फ सबै जनप्रतिनिधिले सोच्नुपर्ने सुझाव दिनुभयो ।

हाल जिल्ला समन्वय समिति अधिकार विहीन झैँ देखिएकोले प्रदेश सरकारले त्यसलाई अधिकारपूर्ण बनाउने उहाँको भनाई थियो । पर्याप्त श्रोत–साधनको अभावमा पनि उत्कृष्ट समन्वयकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरको प्रशंसा समेत गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV