१८ आश्विन २०७५, बिहीबार
  • राजकमल सिंह

जनकपुरधाम। धनुषाको ढल्केवरलाई प्रदेश नम्बर-२ को राजधानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नागरिक समाजका अगुवाहरुको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । मिथिला नगरपालिका वडा नं.७ का वडा अध्यक्ष युवराज उप्रेति , सञ्चारकर्मी विजयकुमार साह र नागरिक अगुवा मेघबाहादुर सेञ्चुरीद्वारा संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापनपत्रमा प्रदेश २ को राजधानीका लागि ढल्केवर सवै किसिमले उपयुक्त रहेको उल्लेख गरिएको छ ।

पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मको मात्र नभएर प्रदेश २ को पर्सादेखि सप्तरी तथा हाल प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको समेत संगमस्थलको रुपमा परिचत ढल्केवर राजधानीको लागि उपर्युक्त भएको दावी ज्ञापनपत्रमा गरिएको छ । यस प्रदेशका जनताका लागि सहज कामकाज र आवत–जावतका लागि सवारी साधन सहज रुपमा उपलब्ध हुने भएकाले पनि ढल्केवरलाई राजधानी बनाउन उपयुक्त हुने दाबि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश नम्बर दुईको पश्चिमी बेल्टमा रहेको विरगंजलाई राजधानी बनाउँदा जनतालाई अपायक पर्छ भने प्रदेशको दक्षिणी बेल्टमा रहेको जनकपुर पनि राजधानीका लागि उपयुक्त देखिदैन । राजबिराज र सिरहाको लहान पनि पूर्वी बेल्टमा पर्ने भएकोले राजधानी उचित छैन् । तसर्थ ढल्केवर प्रदेश २ को राजधानी सही र उपयुक्त रहेको ज्ञापनपत्रमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV