१७ आश्विन २०७५, बुधबार

प्रहरी नै धर्म प्रचारमा

दिलिपकुमार गुरुङ सशस्त्र प्रहरीका बहालवाला हवल्दार हुन् । उनी खुलेयाम ख्ष्टिियन धर्म प्रचारमा सक्रिय भएको खुलासा भएको छ । उनले धर्म प्रचार मात्रै गरेका छैनन्, समाजमा अन्धविश्वास र भ्रम फैलाइरहेका छन् । भन्छन्, ‘परमेश्वकै कृपाले जागिर खाएँ, प्रभुकै आशीर्वादमा काम गरिरहेको छु ।’

मंगलबार धर्म प्रचारका लागि गुल्मीमा आयोजित एक कार्यक्रममा हवल्दार दिलिपकुमारले ख्रिष्टियन धर्ममा लागेपछि फलिफाप भएको बताए । गत चैतमा ख्रिष्टियन प्रवेश गरेका गुरुङ अहिले यशुख्रिष्टको प्रदेश दूतका रुपमा सक्रिय छन् । उनले एक कार्यक्रममै भने कि, ‘पहिला खुब विरामी हुन्थेँ, जिऊ दुब्लाउँदै गएको थियो, घरमा झगडा भइरहन्थ्यो, प्रभुको बिश्वास गर्न थालेपछि सबै ठीक भएको छ ।

सशस्त्र प्रहरीमा करिब १६ वर्ष विताइसकेका गुरुङको पोस्टिङ तनुहूँमा भएको छ । उनको जन्मघर स्याङ्जा हो । तर उनी पोखरा, बुटवल, अर्घाखाँचीसम्म ख्रिष्टियन धर्म प्रचारमा हिँड्छन् । परिचय लुकाउँदै, नाम ढाँट्दै प्रभुका नाममा अन्धविश्वासयुक्त भ्रम फैलाउँछन् । अनि, मानिसहरु त्यसैलाई पत्याउँछन् । मंगलबार करिब ३ सय जना सहभागी कार्यक्रममा उनले प्रभु यशुको गुणगान गाउँदा भक्तहरु मन्त्रमुग्ध थिए ।

उनसँगै कार्यक्रममा सहभागी धेरैले यशुख्रिष्टकै कृपाले आफूमा भएको रोग निमन भएको, जीवनमा खुसीको बहार छाएको अनुभव सुनाइरहेका थिए ।

त्यसै गीतसंगीतमा पनि परमेश्वरको बयान भइरहेको थियो ।

धर्म परिवर्तन गरेर ख्रिष्टियन हुनेहरुमा अधिकांश दलित तथा जनजातिहरु छन् । निम्न आर्थिक अवस्था भएका र पिछडिएको समुदायमा गएर गुरुङको समूहले धर्म प्रचार गर्ने गरेको छ । र, सोझा गाउँलेलाई उनीहरुले सजिलै प्रभावमा पार्छन् । यशुका अनुयायी भएकाहरुलाई यस्तो भ्रम छ कि, ख्रिष्टियन भएपछि क्यान्सरदेखि मुटुरोगसम्म उपचारबिनै विसेक हुन्छ । र उनीहरु भ्रमप्रति पूर्णतः विश्वस्थ छन् ।

कुनै धर्मप्रति आस्था राख्नु र आस्था गरिएकाको भक्तिगान गाउनु स्वभाविक होला । तर, भ्रम फैलाउँदै विपन्नता र सोझोपनको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनु गलत हो र संविधानविपरीत हो । अझ प्रहरी सेवामा जागिर खाएकाहरु नै धर्म प्रचारमा सक्रिय हुनु विडम्बनापूर्ण सत्य हो । धर्म प्रचारमा सक्रिय गुरुङलाई वुधबार नेपाल प्रहरीले नियन्त्रण लिएको छ । र, आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

के हुन्छ कारबाही ?

संविधानतः कसैलाई लालाईफकाई वा जबरजस्त प्रभावमा पारेर धर्म परिवर्तन गर्न पाइँदैन । मुलुक धर्म निरपेक्ष भएसँगै सबैलाई आफूलाई मन परेको धर्म मान्ने छुट छ । तर, कुनै भ्रामक प्रचार गर्दै धर्म परिवर्तन गर्नु हुँदैन । गरे दण्डनीय हुन्छ । तर, सशस्त्र प्रहरीका एक हवल्दारः दिलिपकुमार गुरुङले झुठो कुरा गर्दै ख्रिष्टियन धर्म प्रचार गरेको तथ्य फेला परेको छ ।

सरकारी जागिर खाएर संविधानविपरीत धर्म प्रचारमा संलग्न गुरुङले अन्धविश्वासलाई प्रश्रय दिइरहेका छन् । कानुनविपरीत काम गर्नेलाई कारबाही गर्नुपर्ने प्रहरी नै धर्म परिवर्तनमा लाग्नु गलत हो । नाम समेत ढाँटेर ख्रिष्टियन धर्म माने क्यान्सर जस्ता रोग पनि विसेक हुने प्रचार गर्दै हिँडेका गुरुङलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लियो र सशस्त्र प्रहरीको जिम्मा लगायो ।

ख्रिष्टियन धर्मका अनुयायीहरुले समाजमा बढ्दो विकृतिको कारण ‘हिन्दू धर्म भएको’ दाबी गर्छन् । संविधानतः एउटा धर्मवालम्बीले अर्को धर्म माथि धावा बोल्न पाइँदैन । तर, ख्रिष्टियनहरु खुलेयाम हिन्दू धर्मको विरोध गरिरहेका छन् । जसमा प्रहरीको समेत संलग्नता छ । प्रहरी कानुन अनुसार सशस्त्र प्रहरीलाई नेपाल प्रहरीले कारबाही गर्न निमिल्ने भएकाले धर्म प्रचार र परिवर्तनमा सक्रिय गुरुङलाई सशस्त्र प्रहरीकै जिम्मा लगाइएको नेपाल प्रहरीले बताएको छ ।

अब हवल्दार दिलिपकुमारलाई कस्तो प्रकारको कारबाही गर्ने भन्ने जिम्मा सशस्त्र प्रहरीमा पुगेको छ । गुरुङविरुद्ध आधिकारिक उजुरी परेको छैन । जसकारण पनि कारबाही प्रक्रिया अघि बढाउन अप्ठेरो परेको बताइएको छ । प्रहरी सेवामा संलग्न नै संविधानविपरीत धर्म प्रचार र परिवर्तनमा सक्रिय हुन्छ भने उसलाई कानूनअनुसार कारबाही हुनैपर्ने दबाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV