१७ आश्विन २०७५, बुधबार

काठमाडौं, १७ असोज । नेकपाभित्र सुसुप्त रहेको विवाद बरिष्ठ नेता माधवकुमार नेपालले सतहमा ल्याइदिए । जसको जवाफ विदेशमै रहँदा अध्यक्ष केपी शर्मा ओलीले दिन भ्याए । अर्का अध्यक्ष पुष्पकमल दाहालले सिंगापुरमै रहँदा नेपाललाई सम्झाउनु बाहेक पछिल्लो विवादमा ‘मुख’ खोलेका छैनन् । किन ?

एकताले नै पूर्णता नपाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवाद सतहमै आएको छ । प्रदेश नेतृत्व छनोटबाट सुरु भएको विशेषतः माधवकुमार नेपाल पक्षको असन्तुष्टि सरकारका काम/कारबाहीमा समेत प्रतिपक्षभन्दा चर्कोरुपमा प्रकट भयो ।

तर, पछिल्लो विवादको श्रृंखलामा अध्यक्ष पुष्पकमल दाहाल मौन छन् । दाहालले सिंगापुरबाटै नेपाललाई सम्झाएको भनिए बाहेक स्वदेश फर्किपछि पनि दाहालले यसबारे सार्वजनिक चर्चा/टिप्पणी वा प्रतिरक्षा गरेका छैनन् । प्रदेशको नेतृत्व चयनमा तत्कालीन माओवादी केन्द्रलाई कमजोर बनाउन खोज्दासमेत धारणा राख्न नसकेको आरोप खेपेका अध्यक्ष दाहालले तत्कालीन एमाले समूहभित्रै बढेको विवाद व्यवस्थापन गर्न नै मौन रहेको केही नेताको भनाइ छ ।

माधव नेपाल वा उनको समूहले आरोप लगाएको एक पक्ष दाहाल हुन् । ओलीसँग मिलेर दाहालले पनि एक पक्षलाई वेवास्ता गरेको र ओलीसँगकै सहमतिमा कार्यबहाक अध्यक्षसमेत नदिएको नेपाल पक्षले टिप्पणी गर्दै आएको छ । पार्टी नेतृत्वका रुपमा ओलीतर्फ लगाएको निसाना स्वतः आफूतर्फ केन्द्रित हुँदा पनि दाहाल मौन बस्नुमा विवाद थप नबढोस् भन्ने नै हो भन्छन् नेपाल पक्षीय नेता पनि ।

सधै शक्ति केन्द्रमा रहेका दाहाल एमाले–माओवादी एकतापछि केही खुम्चिए पनि नेकपाभित्र निर्णायक नै छन् । दाहालका लागि एकातिर ओलीका कारण पूर्व एमालेमा बढ्ने विवादको विकल्प आफू हुँ भन्ने पार्नु छ भने अर्कातिर पूर्व एमालेको कुनै पनि समूहलाई चिढ्याएर एकता महाधिवेशनबाट नेतृत्व लिने अबसर गुम्न सक्ने परिस्थिति बनाउनु पनि हितकर छैन ।

एक तिरमा दुई शिकार गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण पनि पछिल्लो विवादमा दाहाल ‘मौन’ बसेको एकाथरीको तर्क छ ।

 

LIVE TV