१७ आश्विन २०७५, बुधबार

काठमाडौं, १७ असोज । भौगोलिक हिसावले पनि नेपालका सबै क्षेत्रमा भलिबलको पहुँच छ । राष्ट्रिय खेल बनेपछि यसको लोकप्रियता अझै बढेको छ भने भविबलमा लागेका स्वयम् खेलाडीले पनि गौरव अनुभूत गर्न पाएका छन् ।

बिभागले धानेको नेपाली भलिबलमा पुरुष टोलीको अवस्था औसत छ । पुरुष टोलीले हालै सम्पन्न १८ औं एशियाली खेलकुदमा पनि समग्रमा १५ औं स्थान हासिल गरेर राष्ट्रिय खेलको लाज राख्न सफल भएको थियो । तर, यही राष्ट्रिय खेलमा महिला खेलाडीको अवस्था चाहीँ कस्तो छ त ?

केहि समय संकटको ग्रहण लागे पनि नेपाली भलिबल अब फेरि मुलुकको खेल र माटोमा उही सुवास लिएर फर्कन थालेको प्रतीत हुन थालेको छ । थोरै क्षेत्रफलमा खेल्न मिल्ने भलिबल नेपालजस्तो भूबनोट भएको मुलुकमा सबैभन्दा लोकप्रिय हुनु स्वभाविक पनि हो । पुरुष वा महिला राष्ट्रिय खेल घोषित भएपछि नेपाली भलिबल जुर्मुराएको छ । बिभागीय टोलीहरुकै दवदवा रहे पनि भलिबल खेलाडीहरु राष्ट्रिय खेलमा आवद्ध हुनुमा गर्व महशुस गर्छन् ।

पुरुषको तुलनामा घरेलु प्रतियोगिताहरु महिलाकै धेरै हुने गरेको छ । भलिबल खेलाडी उत्पादनमा कहलिएको न्यु डायमण्ड एकेडेमी, टोरपाटन स्पोर्टस क्लव, जावलाखेल भलिबल क्लव र राष्ट्रिय प्रतियोगितामा दवदवा राख्ने बिभागीय टोली एपीएफ र उसलाई पछ्याइरहेको आर्मी र पुलिस । मुख्य गरी नेपाली महिला भलिबल समग्रमा यिनै ६ क्लवको सेरोफेरोमा घुमेको छ । बेलाबखत हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेलहरुले खेलाडीलाई अपडेट हुन सहज भएको छ ।

यद्यपी हालै सम्पन्न एशियाली खेलकुदमा पुरुष टोलीको मात्रै सहभागिताले महिला खेलाडीहरुले भने पुरुष सरह खेल्ने वातावरण अझै बनिनसकेको महशुस गरिरहेका छन् । तर भलिबल संघका पदाधिकारी भने पछिल्ला केहि वर्षयता महिला भलिबलले पनि ठूलो फड्को मारेको दावी गर्छन् ।

वर्षमा औषत दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिता आयोजना हुने गरेका छन् । जसमध्ये पुरुषको तुलनामा महिलाका प्रतियोगिता धेरै छन् । यसले खेलाडीलाई खेलेरै बाँच्न सक्ने आधार खडा गरिदिएको एकातिर छ भने नेपाली महिला भलिबलमा व्यवसायिकताको साथै नयाँ पुस्ताको आकर्षण पनि बढेको छ । तर, भलिबल संघ प्रतियोगिता स्वीकृत गर्नु भन्दा ग्रासरुटदेखि राष्ट्रिय खेलको व्यवसायिकीकरणमा लाग्नु भने आवश्यक भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV