१७ आश्विन २०७५, बुधबार

गोरखा, १७ असोज (रासस) । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका छन् हुन्।

स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घार बेच्न थालेका करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आएका छन् । उत्पादन भएको मह अहिले मानाको रु ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ ।

मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउछन् । देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उहाँले घार पनि बिक्री गर्दै आएका छन् ।

‘‘पहिलाको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भने । आजभोलि एक घारको रु १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उनले जानकारी दिए ।

 

LIVE TV