१७ आश्विन २०७५, बुधबार

कैलाली । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । विगत वर्ष झैँ साल्ट ट्रेडिङ्ग कर्पोरेसनको क्षेत्रीय कार्यालयले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

धनगढी, टीकापुर, बेलौरी, महेन्द्रनगर, डडेलधुरा, दिपायल र बैतडीमा सुपथ मूल्य पसल सञ्चालन भएका छन् । सरकारको निर्देशन अनुसार नुन र चिनीको विक्रिवितरणका लागि पसलहरू सञ्चालनमा ल्याइएको साल्ट ट्रेडिङ्गका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेयले बताए । सुपथ मूल्य पसलबाट प्रत्येकले ६ किलोको दरले १८ रुपैयाँ प्रतिकिलो मा नुन र ७० रुपैयाँ प्रतिकिलोमा चिनी किन्न पाउने उनले बताए ।

विकट पहाडी जिल्ला दार्चुला, बझाङ, बाजुरा र अछाममा भने यस वर्ष सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । ती जिल्लामा सरकारले वितरण गर्ने अनुदानको नुनको पर्याप्त मौज्दात रहेकोले पसल सञ्चालन नगरेको पाण्डेले बताए । चिनी भने जिल्ला प्रशासन कार्यालय मार्फत माग भई आएमा पठाउन सकिने उनको भनाई छ ।

नुनको मूल्य गत वर्षकै कायम रहे पनि चिनी भने गत वर्ष भन्दा सात रुपैयाँ सस्तोमा किन्न पाउने कर्पोरेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV