१६ आश्विन २०७५, मंगलवार

काठमाडौं । ज्येष्ठ नागरिकमा पछिल्लो समय अति विर्सने अर्थात अल्जाइमर रोग बढ्दै गएको भेटिएको छ । नेपाली समाजमा उमेर बढ्दै गएपछि विर्सने समस्या सामान्य रहेको बुझाइले पनि रोगको पहिचानमा कठिनाई देखिएको छ । सन् २०१५ को तथ्यांक अनुसार ७८ हजारमा अल्जाइमर पाइएको छ ।

विर्सनु सामान्य झैं लागेपनि बारम्बार विर्सिए बृद्धबृद्धालाई अल्जाइमर भएको पनि हुन सक्छ । ६५ वर्ष उमेर नाघेका बृद्धबृद्धामा पुराना घटना सम्झने तर, भर्खरै भएका घटना विर्सने समस्या रहेमा अल्जाइमर हुनसक्छ । यस्ता समस्या रहेमा चिकित्सकसँग परामर्श लिनुपर्छ । अल्जाइमर रोग उमेर बढ्दै गएपछि लाग्ने एक किसिमको जटिल मानसिक रोग मानिन्छ । सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्ने सम्भावना हुन्छ ।

६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यो रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ । अनियन्त्रित मधुमेह, उच्च कोलस्ट्रोल, उच्च रक्तचाप भएका बिरामीमा अझ बढी रोग लाग्ने सम्भावना हुन्छ । चिकित्सकका अनुसार बंशानुगत कारणले पनि यो रोग लाग्छ । ८५ बर्ष उमेर कटिसकेकाको हकमा २० देखि ४० प्रतिशतलाई यो रोगको सम्भावना रहने चिकित्सकहरु बताउँछन् ।

उमेर बढ्दै गएपछि केहीको मस्तिष्कमा नचाहिने प्रोटिनको मात्रा बढ्दै जान्छ । यसले मस्तिष्कमा पोका जम्न थाल्छ । विस्तारै–विस्तारै दिमागमा असर गर्दै जान्छ ।

पाटन अस्पतालले पहिलो पटक जेष्ठ नागरिक क्लिनिकको सञ्चालन गरेको छ । क्लिनिकमा अल्जाइमर डिमेन्सियाका बिरामीको विशेष उपचार हुने गरेको छ । नेपालमा झन्डै ३० लाख जेष्ठ नागरिक भए पनि बिशेषज्ञ भने दुई जना मात्र छन् । अल्जाइमर डिमेन्सिया औषधि सेवनबाट पूर्ण रूपमा निको हुँदैन । त्यसैले सामान्य भुल्ने समस्या देखिएकै अवस्थामा चिकित्सकसंग परामर्श लिनू पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV