१६ आश्विन २०७५, मंगलवार

काठमाडौं, १६ असोज । बजारमा दैनिक उपभोग्य चिनीको कृत्रिम हाहाकार बनाइएको छ । चाडवाडको मुखैमा चिनीको हाहाकार बनाइनुले शंकालाई प्रशस्तै ठाउँ दिएको छ । सहजताका लागि सरकारले १७ दिनअघि चिनीमा कोटा प्रणाली लागु गरेको थियो । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयात गरिने चिनीमा मात्रा तोकियो । यता, चिनीमा कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई सास्ती दिइनुको निहित स्वार्थ खुल्न सकेको छैन ।

नेपालमा २ लाख ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने एक तथ्यांकले देखाएको छ । स्वदेशमै १ लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने गरेको छ । त्यसका अलावा सरकारले एक लाख चिनी आयात गर्न अनुमति दियो र त्यही अनुरुप चिनी आयात भयो । स्वदेशी उत्पादन र आयात गरिएको चिनीको मात्रा २ लाख ७५ हजार मेट्रिक टन हुन आउँछ । यो नेपाली बजारका लागि पर्याप्त रहने तथ्यांकले देखाएको छ । तर, बजारमा अहिले चिनीको हाहाकार किन ? शंका उत्पन्न भएको छ । तर, अभावका बारेमा सरकार निरुत्तर देखिन्छ ।

भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले चिनी आयातमा नियन्त्रण गरेर स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने निर्णय गर्दै कोटा प्रणाली लागु गरेको थियो ।

संसदको एउटा समिति भने सरकारी निर्णयमा खोट देख्छ । संसदको सार्वजनिक लेखा समितिले चिनी आयात बन्देज लगाईंदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको बुझाई राखेको छ ।

सरकार आफैंले सञ्चालन गरेको सहुलिय पसलमा समेत चिनी विक्रि रोकिएको छ । बजारमा भन्दा महँगो मूल्यमा चिनी विक्रि भएको कारण साल्ट टेड्रिङले मन्त्रालयको आदेशलाई आधार मान्दै चिनी विक्रिमा रोक लगाएको बताएको छ । सरकारी रवैयाका कारण उपभोक्ता अन्योलमा परेका छन् ।

यता, चिनी उत्पादक संघले भने चिनीको कृत्रिम अभाव सिर्जना नगरिएको दाबी गरेको छ । यदी संघ आवद्ध व्यवसायीबाटै कृत्रिम अभाव सृजना गरिएको भए कारवाही भोग्न तयार रहेको बताएको छ ।

अभावको भित्री कथा सार्वजनिक गर्न सरकारले तत्परता देखाउनुपर्छ । पर्याप्त चिनी हुँदा हुँदै किन अभाव ? कस्ले चिनी आपूर्तिमा समस्या सृजना गर्दैछ ? प्रश्न सरकारलाई ।

LIVE TV