१६ आश्विन २०७५, मंगलवार

काठमाडौं, १६ असोज । एसीसी यू–१९ एसिया कप अन्तरग समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । बंगलादेशस्थित साभरस्थित मैदानमा युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गर्दै सान्त्वना जित हासिल गरेको हो ।

टस जितेर ब्याटिङ गरेको यूएईका अंश र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । नेपालका लागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिंदा सूर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए । उता, नेपालको जीतमा रोहितकुमार पौडेल नायक सावित भए ।

रोहितले ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाएपछि नेपालको जित सहज भयो । त्यस्तै नेपालको जितमा सन्दीप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । नेपाल यस अघि भारतसँग १ सय ७१ रन तथा अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV