१६ आश्विन २०७५, मंगलवार
  • तारा आचार्य,

विराटनगर, १६ असोज । विराटनगर भन्सार कार्यालयले रानी नाकामा घरायसी प्रयोजनका लागि ल्याइएको एक दुई किलो चिनीमा समेत रोक लगाएको छ । सरकारले चिनीमा परिमाणात्मक बन्देज लगाएपछि विराटनगर भन्सार नाकाबाट चिनी आयात पूर्णरुपमा रोक लगाइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

चिनी आयातमा पूर्ण रोक लगाइएपछि सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुले ग्राहकले किनेर ल्याएको चिनी पुनः भारत तर्फ नै फर्काउने गरेका छन् । सीमावर्ती बजार जोगबनीमा विराटनगर भन्दा करिब १५ रुपैया प्रतिकिलो सस्तोमा चिनी पाइने भएपछि सयौं नेपाली ग्राहकहरु अन्य वस्तु संगै चिनी पनि किनेर ल्याउने गर्दछन् ।

चिनीमा परिमाणात्मक बन्देज लगाइएपछि माथिको आदेशमा चिनी आयातमा पूर्णरुपमा रोक लगाइएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुशील थापाले जानकारी दिनुभयो । चाडवाडको समयमा अहिले अकस्मात चिनीमा रोक लगाउने र किनेको चिनी समेत फर्काउन लगाएकोमा सर्वसाधारण उपभोक्ताहरु आक्रोशित छन् ।

घरायसी प्रयोजनका लागि एक दुई किलो सस्तोको चिनी ल्याउन नदिने र अर्कोतिर दैनिक व्यापारीहरुले चिनीको मुल्य बढाउदा समेत सरकार भने चुप लागेकोमा उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV