१६ आश्विन २०७५, मंगलवार
  • अंगराज न्यौपाने,

काठमाडौं, १६ असोज । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अन्ततः नभत्काइने भएको छ । २०७२ सालको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको पश्चिमतर्फको सिंहदरबारको मोहडा ३ वर्षपछि आएर नभत्काइने पक्का भएको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबार भत्काउने चलखेल भइरहेको बेला संरचनाको भार बहन गर्ने पर्खाल सामान्य क्षति मात्रै भएको प्रतिवेदनसँगै सिंहदरबार पुरानै स्वरुपमा पुर्नजीवित हुने निश्चित भएको छ । सिंहदरवारको मुख्य भवन तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बने पनि अन्ततः सबलीकरण (रेट्रोफिटिङ) विधिवाट नै पुनर्निर्माण गरिने भएको छ ।

भूकम्पका कारण केही कम क्षति व्यहोरेको सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) विधिवाट पुनर्निर्माण प्रकृया सरु भइसक्दा समेत अन्य संरचनाको भन्दा ठूलो क्षति व्यहोरेको मुख्य संरचना पुनर्निमार्ण गर्दा पूर्णरुपमा भत्काउने या (रेट्रोफिटिङ) गर्ने भन्ने विवाद कायम नै रहेको थियोे ।

युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका विशिष्ट संरचना छन् । जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङका प्राविधिकले सिंहदरबारको पश्चिमी मोहडाको १६ मिटर मुनिको माटो परीक्षण गरेको थियो । परीक्षण पछि ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो संरचना अन्ततः नभत्किने लगभग पक्का भएको छ ।

पहिलो चरणको अध्यायनमा पूर्णरुपमा भत्काएर नयाँ निर्माण गर्नु पर्ने प्रतिवेदन पेश भएको भए पनि प्राधिकरणले पुनः अध्ययन गर्दा सिंहदरबारको पश्चिमी मोहडातर्फ सिंगो संरचनाको भार व्यहोर्ने पर्खालमा खासै क्षति नभएको प्रारम्भिक प्रतिवेदन पेश भएको छ । संरचनामा प्रयोग भएको इट्टा बजारमा पाइने भन्दा राम्रो क्षमताको मात्र नभई माटोको जोडाइ दरिलो भेटिएको छ ।

पश्चिम मोहडातर्फको भत्कन लागेको सिंहदरबार संरचनाबारे तीन वर्षयता बहस जारी रहेका बेला विभिन्न प्राविधिक परामर्श समूहले यसलाई ‘भत्काउनु उपयुक्त’ भनेर निचोड सुनाउँदै आएका थिए ।

नयाँ बन्ने संरचनाभन्दा बढी समय पुरानोको रेट्रोफिटिङमा लाग्नेछ । तर, सिंहदरबारको ‘सिग्नेचर आइकन’ अर्थात् यसको स्वरुपमा परिवर्तन हुनवाट जोगिने त छ नै सिंहदरवारको पहिचान समेत कायम नै रहने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV