१६ आश्विन २०७५, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, १६ असोज । जिल्ला रेडक्रस सोसाईटी ओखलढुंगाले सञ्चालन गर्दै आएको एम्बुलेन्स ९ महिनादेखि थन्किएको छ । सोसाईटीले जिल्लामा आपतकालीन सेवा प्रवाहका लागि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा लामो समयदेखि थन्किएको हो । एम्बुलेन्स प्रयोगविहिन भएपछि कार्यलय प्राङगणमा घाँस उम्रेर बसेको छ ।

बा ७ च ३७८८ नम्बरको एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन भएपछि घाँस उम्रीन थालेको हो । सोसाईटीका सभापति सुमन राजभण्डारीका अनुसार सञ्चाल समितिबीचको आन्तरिक विवादका कारण एम्बुलेन्स सञ्चालन गर्न नसकिएको हो ।

रेडक्रसका जिल्ला उपसभापति पोकल दाहालको संयोजकत्वमा बनेको सञ्चालक समितिले पारदर्शी रुपमा हिसाबकिताव बुझाउन नसकेकाले एम्बुलेन्स थन्किएको राजभण्डारीको भनाई छ ।

उनले संस्थाको आवश्यकता एम्बुलेन्स भएको भएपनि कार्यसमितिमा बिबाद चुलिएपछि चलाउन नसकिएको स्वीकार गरे । तर उपसभापति दाहालले भने आफु एम्बुलेन्स सञ्चालक समितिको संयोजक नभएको बताए ।

उनले थन्किएको एम्बुलेन्स सञ्चालन गर्ने विषयमा प्रतिवेदन बनाउने जिल्लामा पाएको भएपनि प्रतिवेदन तयार पार्न नसकेको बताए । एक महिनाभित्र प्रतिवेदन तयार गर्नुपर्ने भएपनि आन्तरिक विवादले प्रतिवेदन तयार नपारेको घुमाउरो शैलीमा बताए ।

अहिले थन्किएको एम्बुलेन्स सञ्चालनका लागि रेडक्रसको मानेभञ्ज्याङ उपासाखाबाट प्रस्ताव आएकाले समितिको छलफलबाट उप शाखालाई एम्बुलेन्स दिने निर्णय भएको छ । थन्किएको एम्बुलेन्स उप शाखालाई हस्तान्तरण गरेपछि जिल्ला साखा एम्बुलेन्स विहिन हुनेछ ।

तर पुरानो एम्बुलेन्स उप शाखालाई दिएर जिल्ला साखाले नयाँ खरिद गर्ने सभापति राजभण्डारीले बताए । त्यसका लागि भने रकम अभाव रहेकाले तुरुन्त खरिद गर्न नसकिने उनको भनाई छ । हाल जिल्लामा अन्य ६ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV