१६ आश्विन २०७५, मंगलवार
  • राजु पौडेल,

झापा, असोज १६ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी सफल भएमात्रै सरकारको सपना साकार हुने बताउनुभएको छ । निर्माण व्यवसायीले खाडी मुलकमा नभएर स्वदेशमा नै रोजगारी सृजना गर्न लागि परेकाले सरकारले पनि निर्माण व्यवसायीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

झापाको बिर्तामोडमा मंगलवार नव निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रममा अध्यक्ष सिंहले सवै निर्माण व्यवसायी एक भएर राष्ट्र निर्माण जुट्नु पर्ने बताउनुभयो । प्रधानमन्त्रीको गृह जिल्ला झापा रहेकाले झापाली व्यवसायीको साथ र सहयोग पाए निर्माण व्यवसायीहरुको हक अधिकारका लागि आफू एक ढिक्का भएर अगाडि बढ्न तयार रहेको उहाँको भनाई छ ।

पाँच करोड रुपैयाँसम्म स्थानीय तहमा र १५ देखि २० करोड प्रदेश भित्रका निर्माण व्यवसायीले मात्र प्रतिष्पर्धा गर्न पाउनु पर्ने विषयमा आफूले पहल गरिरहेको सिंहको भनाई छ । उहाँले दुई अर्व रुपैयाँ भन्दा बढीका आयोजनामा मात्र विदेशीलाई प्रतिष्पर्धीका रुपमा सहभागी गराउन माग गर्नुभयो । नव निर्वाचित निर्माण व्यवसायीहरुको एजेण्डामा सरकारले साथ दिए विदेशिने अरवौं रुपैयाँ रोकिने उहाँको भनाई छ ।

नेपाली निर्माण व्यवसायीसक्षम भएमा सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने अध्यक्ष सिंहको भनाई छ । कार्यक्रममा निर्माण व्यवसायी संघ झापाले अध्यक्ष सिंहसहित वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाललगायत नवनिर्वाचित केन्द्रीय तथा प्रदेश पदाधिकारीलाई सम्मान तथा बधाईज्ञापन गरेको थियो ।

LIVE TV