१६ आश्विन २०७५, मंगलवार

बेइजिङ । अमेरिका र चीनबीच व्यापारका विषयलाई लिएर उत्पन्न तनाव अझै बढ्ने खतरा देखिएको छ । अमेरिकी वायुसेनाको एक युद्धपोत दक्षिण चीन सागरको विवादित टापुमा देखिएपछि अमेरिका–चीन सम्बन्धमा थप दरार आउने सम्भावना देखिएको हो ।

एक अधिकारीले भने, ‘अमेरिकी सेनाले दक्षिण चीन सागरसहित हिन्द–प्रशान्त क्षेत्रमा दैनिक रुपमा आफ्नो अभियान चलाइरहेको छ । सबै अभियान अन्तर्राष्ट्रिय निमयअनुसार चलिरहेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनले अनुमति दिने हरेक क्षेत्रमा उडान भर्न सक्छ, युद्धपोत पठाउन सक्छ र कुनै अभियान चलाउन सक्छ भन्ने देखिएको छ ।’

चीनले भने अमेरिकाको यो प्रकारको कदमलाई हेपाहा प्रवृत्ति भन्दै अमेरिकाले यस क्षेत्रमा तनाव सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।
चीनले दुवै देशबीच सैन्य सम्बन्ध बिगार्ने कोशिस गरेको भन्दै अमेरिकालाई अधिक परिपक्व बन्न या यस्ता कार्यबाट उत्पन्न हुने परिणाम भोग्न तयार रहन पनि चेतावनी दिएको छ ।

चिनियाँ रक्षामन्त्रालयले भनेको छ, ‘चीन आफ्नो इलाकामा सैन्य घुसपैठको विरोध गर्दछ र दक्षिण चीन सागरमा आफ्नो अधिकार र हितको रक्षाका लागि सबै कदम अवस्य उठाउनेछ ।’

मन्त्रालयका प्रवक्ता रेन गुओकियांगले एक अन्तर्वार्तामा भने, ‘हामी अमेरिकालाई समुचित र परिपक्व व्यवहार गर्न र द्विपक्षीय सम्बन्ध सुधारका लागि कदम चाल्न माग गर्दछौं । हामी अमेरिकालाई चीनसँग मिलेर काम गर्न पनि आग्रह गर्दछौं ।’

चीनको रक्षामन्त्रालयले बिहीबारमात्र्रै पनि दक्षिण चीन सागर र पूर्वी चीन सागरमा अमेरिकी बमबर्षक बी–५२ को उडान उक्साहटपूर्ण कदम भएको बताएको थियो ।

पेन्टागनले पूर्वी चीन सागरमा जापानसँग संयुक्त अभियानमा भारी बमवर्षकले भाग लिएको र एक दिनअघि दक्षिण चीन सागरको माथि अन्तर्राष्ट्रिय हवाईमार्गबाट उडान भरेको जनाएको छ ।

चीनले दक्षिण चीन सागरको ठूलो क्षेत्रमा आफ्नो दाबी गर्दैै आएको छ । सो क्षेत्रलाई भियतनाम, मलेसियालगायतले पनि आफ्नो दाबी गर्ने गरेका छन् । चीनले दक्षिण चीन सागरमा कुनै प्रकारको हस्तक्षेप भए त्यसको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV