१६ आश्विन २०७५, मंगलवार

स्टकहोम/एजेन्सी– चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी.एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ ।

=यी दुवै वैज्ञानिकलाई क्यान्सरको स्टेजमा शरीरको इम्युन सिस्टमलाई कमजोर बनाउने पीडी–१ नामक प्रोटिनको खोजका लागि यो पुरस्कार दिइएको हो । उनीहरुले नेगेटिभ इम्युन रेग्युलेशनको माध्यमबाट क्यान्सर रोक्ने तरिका पत्ता लगाएका छन् ।

यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको हो ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो ।

स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो ।

LIVE TV