१५ आश्विन २०७५, सोमबार

काठमाडौँ, १५ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवसका अवसरमा ‘लेफ्ट रिभ्यु अनलाइन’द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रवक्ता श्रेष्ठले राजनीतिक उपलब्धिलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको समृद्धि आजको आश्यकता भएको औँल्याउनुभयो ।

उहाँले चिनियाँ कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिँदै नेपालमा नयाँ वैचारिक अभियान अगाडि बढाउनुपर्ने बताउँदै भन्नुभयो, “राजनीतिक हिसाबले भन्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने अवस्था छ तर वैचारिक अभियान जरुरी छ ।” दिनदिनै खाडी मुलुकमा जाने युवालाई आफ्नै माटामा श्रम गर्र्ने वातावरण सिर्जना गर्नु कम्युनिष्ट सरकारको अभिभारा भएको नेता श्रेष्ठको भनाइ थियो ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हितमा रहेर विकास र समृद्धिका निम्ति चीनले सक्दो सहयोग गर्दै आएको उहाँले स्मरण गर्नुभयो । साम्राज्यवादीको घेराबन्दीबाट माथि उठेर चीन विश्वकै शक्तिशाली राष्ट्र बन्न सफल भएको उहाँको भनाइ थियो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा चिनियाँ कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण योगदान रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट आन्दोलनले विश्वको शक्ति सन्तुलनमा परिवर्तन ल्याएको र त्यसले चिनियाँ जनताका लागि मात्रै नभई बाह्य हस्तक्षेप रोकेर समृद्ध नेपाल बनाउने अभियानमा थप सहयोग गरेको बताउनुभयो ।

समाजवादी मञ्च नेपालका अध्यक्ष नरेन्द्रजङ्ग पिटरले चीनले आफ्ना लागि आफैँ लड्नुपर्छ भन्ने सन्देश दिएको छ भन्नुभयो । जनवादी गायक जीवन शर्माले आजको दिन चीनका लागि मात्रै नभई नेपालका लागि समेत महत्वपूर्ण दिन भएको बताउनुभयो । ‘लेफ्ट रिभ्यु अनलाइन’का निर्देशक तथा सम्पादक नहेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

LIVE TV