१५ आश्विन २०७५, सोमबार

दमौली, १५ असोज :गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट सार्वजनिक पुस्तकालयको आज अवलोकन गर्नुभएको छ ।

जिल्लाको नमूना पुस्तकालयका रुपमा विकास हुँदै गइरहेको पुस्तकालयको अवलोकन गर्दै मन्त्री पुनले पुस्तकालय सञ्चालनमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुस्तकालयमा पुस्तकको कमी रहेको, पुस्तकालय बालमैत्री बनाउन आवश्यक रहेको र पुस्तकालयको भवनको आवश्यकता रहेको सुझाव लिएपछि उक्त समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अवलोकनका क्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय गायत्री गुरुङ र मित्रकुमारी गुरुङसमेत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा गणेश बाल क्लबका अध्यक्ष कृषु पाण्डेले पुस्तकालयलाई बालमैत्रीपूर्ण बनाउन प्रदेश सरकारका तहबाट आवश्यक बजेटको माग गर्नुभएको थियो । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री पुनलाई पुस्तकालयको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले विसं २०६३ मा स्थापना भएको सो पुस्तकालय अहिले जिल्लाकै नमूना पुस्तकालयका रुपमा विकास भइरहेको छ । स्थापनाकालमा सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०/१० पुस्तक ल्याई स्थापना गरेको पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा संस्कृत र धार्मिक पुस्तक बढी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV