१५ आश्विन २०७५, सोमबार

तुलसीपुर, १५ असोज:लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच आज भएको सहमतिअनुसार मङ्गलबार सानो जहाजले परीक्षण उडान गर्ने भएको हो ।

“दशैँअगावै सातामा दुई पटक विमान सेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भन्नुभयो । उहाँले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको समेत जानकारी दिनुभयो ।

प्रवक्ता सिग्देलले मङ्गलबार परीक्षण उडान भएसँगै विमान सेवा दशैँअगाडि सातामा दुई पटक सञ्चालन हुने समेत बताउनुभयो । सिग्देलले परीक्षण उडानको प्रतिवेदन पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताउनुभयो । “साता दिनभित्र सबै प्रक्रिया पूरा भएर विमान व्यापारिक रुपमा सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा हुने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले सातामा दुई पटक सञ्चालन हुँदा रु छ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा पनि कम भाडाबाट यात्रा गर्न सकिने बताउनुभयो ।

तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाई सेवा प्रयोग गर्ने यहाँका कैयाँै यात्रु भैरहवा र नेपालगञ्जको विमानस्थल प्रयोग गर्न बाध्य थिए । तुलसीपुर उपमहानगरपालिकाले भदौ ३१ गते विमान सेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV