१५ आश्विन २०७५, सोमबार

काठमाडौं, १५ असोज । पहुँच र शक्ति केन्द्रको आडमा सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम बढिरहेको छ । सर्वोच्च अदालतको आदेश र काठमाडौं महानगरपालिको निर्देशनसमेत अवज्ञा गर्दै काठमाडौंको स्वयम्भूस्थित एक विद्यालयको जग्गा अतिक्रमण गरेर निजी आवास बनाइएको छ । एक रिपोर्ट
स्वयम्भुको जनसुधार निम्न माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गरी केही स्थानीयले निजि आवास निर्माण गरेका छन् ।

सार्वजनिक जग्गामा निर्माण भएको विद्यालयको कूल १ रोपनी १३ आना जग्गा छ । जसमध्ये विद्यालयले ११ आना जग्गा मात्रै प्रयोग गरेको छ । बाँकी जग्गामा स्थानीयले आँखा गाडेका छन् । स्थानीय सूर्यबहादुर लामा, विकास लामा र चन्द्रबहादुर लामाले विद्यालयको स्वामित्वमा रहेको सरकारी जग्गा अतिक्रमण गरी निजी आवास निर्माण गरेका हुन् ।

उनीहरुविरुद्ध परेको उजुरीमा सर्वोच्च आदालतले ‘उक्त जग्गा सार्वजनिक भएकाले बनेका संरचना तत्काल भत्काउन’ आदेश दिएको थियो । त्यस्तै काठमाडौं महानगरपालिकाले पनि उक्त जग्गामा बनेको संरचना भत्काउन निर्देशन दिएको थियो ।

विद्यालय प्रशासन एवम् व्यवस्थापन समितिले वडाध्यक्षको मिलेमतोमा सार्वजनिक जग्गा अतिक्रमण भएको आरोप लगाएका छन् । सार्वजनिक जग्गा अतिक्रमण भएको स्वीकारे पनि आफूमाथि लागेको आरोप स्वीकार्न तयार छैनन्, काठमाडौं महानगरपालिकाका–१५का वडाध्यक्ष ईश्वरमान डंगोल ।

यो विद्यालयमा २५० जना विद्यार्थी अध्ययनरत छन् । निम्न आय भएका परिवारका विद्यार्थी पढ्ने यस विद्यालयको जग्गा संरक्षणमा सराकारवाला सबैले ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV