१५ आश्विन २०७५, सोमबार

काठमाडौं, १५ असोज । पानीको धनी मानिएको नेपालमा पानीको समग्र जानकारी दिन पानीको ज्ञान केन्द्र स्थापना गर्न अत्यन्त जरुरी भएको कुरा राजधानीमा सोमबार आयोजित एक कार्यशालाका वक्ता र सहभागीहरुले जोड दिएका छन् ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था ‘सोसाइटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स’ (सोफेन) र खानेपानी, वातावरण र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्व संस्था ग्लोबल इन्स्टिच्यूट अफ वाटर, इन्भाइरोमेण्ट एण्ड हेल्थ नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको कन्सल्टेटिभ वर्कसप अन बाटर नलेज हव विषयक कार्यशालाका स्रोत व्यक्ति र सहभागीहरुले त्यस्तो जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार डा. सुबोध शर्माले नेपाल संयुक्त राष्ट्र« संघले निर्धारण गरेका दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने मुलुकमा रहेको र दिगो विकास लक्ष्यमा सबै जनतालाई सुरक्षित,सफा र स्वच्छ पानी खानेपानी उपलब्ध गराउने विषय समाविष्ट भएकोले पानीको ज्ञान केन्द्र खोल्न आवश्यक रहेको बताए ।

उनले खानेपानी बाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकोले यसको संरक्षण र उपयोगकालागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा ग्लोबल इन्स्टिच्यूट अफ वाटर,इन्भाइरोमेन्ट एण्ड हेल्थका अध्यक्ष डा. निदाल सलिमले स्वच्छ खानेपानी र सरसफाईको महत्व संसारभर सधैभर रहने उल्लेख गर्दै पर्याप्त स्वच्छ खानेपानीको व्यवस्था,पानीको व्यवसायिक बहुउपयोग आदिका बारेमा जानकारी दिन विषेश व्यवस्था हुन जरुरी रहेका बताए । उनले खानेपानीका वायुमण्डलीय, सतहगत र भूमिगत स्रोतहरुको संरक्षण, प्राप्त पानीको उपयोगिताका बारेमा वर्तमान र भावि पुस्तालाई जिम्मेवार बनाउन पनि ज्ञान केन्द्रको आवश्यकता भएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री ई. गणेश साहले खानेपानीको महत्व दिनानुदिन बढेको र पानीको बहुउपयोगिताबारे जानकारी एकै ठाँउमा पाउन सक्ने अवस्था विद्यमान नरहेकोले यो आवश्यकता पूरा गर्न नलेज हव को आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. डा. हरेराम श्रेष्ठले नेपाल पानीमा धनी भएको र पानीको बहुक्षेत्रीय उपयोग हुने भएकोले त्यसको आवश्यकता,आपूर्ति र उपयोगिताकाबारेमा जानकारी दिन यस्तो हव उपयोगी हुने विचार राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV