१५ आश्विन २०७५, सोमबार

काठमाडौँ । अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने “तेश्रो युथ ओलम्पिक गेम २०१८”मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटीका अध्यक्ष एवं संघीय प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले बिदाई गर्नु भएको छ ।

असोज २० देखि कार्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिष्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् भने एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिष्पर्धा गर्ने ओलम्पिक कमिटीले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्ने छन् । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिक कमिटीले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ्ग रहेका छन् ।नेपाली टोलीलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले सफलताका लागि शुभकामना दिनुभयो । १८ बर्ष मुनिका खेलाडीहरुको कुम्भमेलालाई खेलाडीहरुले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठूला प्रतियोगिताहरुका लागि आफुलाई निखार्ने अवसरको रुपमा लिनु पर्ने उहाँको भनाइ थियो ।

बिदाई कार्यक्रममा ओलम्पिक कमिटिकी उपाध्यक्ष एवं लन टेनिस संघकी अध्यक्ष ज्योति राणा, कोषाध्यष एवं नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन, सदस्य एवं ट्राईथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV