१५ आश्विन २०७५, सोमबार

१५ असोज । नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेल अगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । बंगलादेशको साभरस्थित मैदानमा नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

अफगानिस्तानका लागि रहमातुल्लाह गुर्वाजले २६ रन बनाउँदा अज्मातुल्लाह ओमारजाइले २३ तथा आरिफ खानले अविजित २३ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङले करिअरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि नेपाललाई हारबाट जोगाउन सकेनन् । ८ ओभर बलिङ गरेका उनले ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ, रसिद खान र सागर ढकालले पनि एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो ।

नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको नेपालले १८ रनमा तीन विकेट खेर फाल्यो । नेपालका ओपनर रवीकुमार शाहमात्र दुई रनमा आउट भए भने सन्दिप जोराले खाता खोल्न सकेनन् । पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपालले लगातार दोस्रो हार ब्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ए मा भारत र अफगानिस्तानले ४–४ अंक भएको छ भने युएई र नेपाल अंकबिहीन छन् । समूहको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV