१५ आश्विन २०७५, सोमबार
  • श्यामशितल परियार ।

 

असोज १५ । लमजुङ–लमजुङको ऐतिहासिक एवम् पर्यटकीय गाउँ राईनासकोट भ्रमण वर्ष गन्तव्य गाउँ घोषित भएको छ । पर्यटनको क्षेत्रमा काम गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) नेपालले राईनासकोटलाई पनि भ्रमण वर्ष गन्तव्य गाउँको रुपमा घोषणा गरेको हो । 

उपयुक्त होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै भिटोफ नेपालले राईनासकोटलाई ‘भिलेज टुरिज्म अफ द ईयर २०१८’ बाट समेत सम्मानित गरेको राईनासकोट होमस्टे सञ्चालक समितिकी उपाध्यक्ष विष्णुमाया गुरुङले बताईन् ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्रको साथमा सम्मानित गर्नुभयो । मन्त्रीज्यूको हातबाट सिंगो राईनासकोट गाउँ सम्मानित हुँदा निकै खुशी लागेको छ । आफुले आफैलाई भाग्यमानी ठानेका छौँ,’ विष्णुमायाले खुशी व्यक्त गरिन् ।

उनका अनुसार विश्व पर्यटन दिवसकै अवसरमा भिटोफ नेपालले देशका तीन गाउँलाई भ्रमण वर्ष गन्तव्य घोषणा गरेको हो । भिटोफ नेपालले लमजुङको राईनासकोटसंगै रामेछापको दोरम्बा गाउँ र मुगुको मुर्मा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।

‘लट्ठै’ पार्ने रमणीय गाउँ राईनासकोट

केही उच्चो ठाउँ । बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य । आँखै अगाडि ‘बादलुको घुम्टो’ ओढी मुसुक्क मुस्कुराएका हिमाल । नागबेली चालमा कलकल बगेको चेपे र मस्र्याङ्दीको लोभलाग्दो दृश्य । ऐतिहासिक एवम् धार्मिक महत्वका थुप्रै मठमन्दिर । बेसीमा समथर फाँटहरु ।

यस्ता थुप्रै प्राकृतिक र ऐतिहासिक सौन्दर्यमा भुतुक्कै हुन्छन्, लट्ठिन्छन्, लमजुङको राईनासकोट पुग्ने जोकोही ।

सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाका अनुसार राईनास नगरपालिका–९, मा रहेको राईनासकाटेबाट १ सय ८० डिग्रीको विन्दुबाट एकै पटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाईन, गणेश, माछापुच्छ्र«े लगायत १८ वटा हिमऋङ्खला आँखै अगाडि देख्न सकिन्छ ।

गाउँलेलाई नतसाको साथ

 

विश्वकै पहिलो योग स्तम्भ पनि राईनासकोटमा छ । गुरुङ जातिको बसोबास रहेको ठाउँ हो, राईनासकोट । यहाँ १४ घरधुरी रहेका छन् । २०७२ साल वैशाखको विनाशकारी भुकम्पले यहाँका सबै घरमा क्षति पुर्यायो । भुकम्पले ढलाएका घर ठड्याउन र चर्किएका भुकम्प पीडितको मनमा राहतको मलम लगाउन पुगिन्, अमेरिकन नागरिक नतसा वाजनियाक । उनकै पहलमा राईनासकोटका १४ घर ठड्याईए । अहिले यहाँ स्थानीय महत्व झल्कने गरी बनाईएका भुकम्प प्रतिरोधात्मक घर छन् ।

११ घरमा होमस्टे सञ्चालन

स्थानीय थानीमाई आमा समुहकी अध्यक्ष समेत रहेकी विष्णुमाया गुरुङका अनुसार अहिले १४ घरधुरीमध्ये ११ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । दैनिक १५÷२० जना पर्यटक गाउँ घुम्न आउँछन् । होमस्टे व्यवसायबाट स्थानीयले अर्थोपार्जन समेत गरेका छन् ।

भिटोफ नेपालद्धारा भ्रमण वर्ष गन्तव्य गाउँको रुपमा आफ्नो गाउँ घोषणा हुँदा सिंगो गाउँ नै खुशी छ ।

‘भ्रमण वर्ष गन्तव्यको रुपमा गाउँ घोषित हुँदा हाम्रो गाउँ राष्ट्रिय रुपमै चिनिएको छ । गाउँमा थप पर्यटन प्रवद्र्धन हुनेमा हामी ढुक्क छौँ । यसको प्रवद्र्धनमा पक्कै राज्यको ध्यान जानेछ,’ राईनासकोटमा ग्रामिण पर्यटन प्रवद्र्धनका लागि हरदम खटिएका स्थानीय कृष्णराजले भने ।

आन्तरिक पर्यटकको रोजाई

उनका अनुसार गाउँमा तुलनात्मक रुपमा आन्तरिक पर्यटक नै धेरै आउँछन् । स्थानीय उत्पादनबाट तयार पारिएका विभिन्न परिकारका स्वाद लिन पाउँछन्, यहाँसम्म आउने पर्यटकले । स्थानीयले मौलिकता झल्कने विभिन्न गीतसंगीत, नृत्य समेत पस्कन्छन् । लमजुङको प्रवेशद्धारा पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ, राईनासकोट । राईनास नगरपालिकाको समृद्धिसंग जोडिएको पक्ष रहेकाले राईनासकोटको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिएको नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV