१५ आश्विन २०७५, सोमबार
  • देवराज पन्त,

असोज १५ । प्रदेशको राजधानी र नाम के राख्ने भन्ने विषयले चर्चा पाईरहेको बर्तमान अवस्थामा स्थानीय तह वडाहरुमा समेत वडा कार्यालय, गाउँपालिका कहाँ राख्ने भन्ने विषयले पनि विभिन्न स्थानमा समस्या देखिएको छ ।

यस्तै समस्या मकवानपुर जिल्लामा पनि देखिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ का स्थानीयलाई थाहै नदिई वडा कार्यालय सारेपछि उनीहरु आक्रोशित भएका छन् । शुक्रबार दिउँसोसम्म ७ नम्बर वडा घमनटोलस्थित सामुदायिक बनको भवनमा रहेको वडा कार्यालय शनिबार बिहान नदेखेपछि स्थानीयहरु आन्दोलित बनेका हुन् ।

सामान चोरी भएको वा अन्यत्र सारेको अनुमान गरी खोजीकार्य सुरु गरेका उनीहरुले शनिबार दिउँसो वडा कार्यालय करिब तीन किलोमिटर टाढा हात्तिखोलामा सारेको थाहा पाएपछि हाल सारिएको वडा कार्यालयमा तालाबन्दी गरेका छन् । नयाँ स्थानमा सारिएको वडा कार्यालय घेराउ गर्न आईतबार करीब दुईसयको संख्यामा दिउँसो पुगेका असन्तुष्ट स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । देशकै ठूलो मध्ये पर्ने बकैया ७ नम्बर वडाको कार्यालय स्थानीयलाई थाहै नदिई अपायक पर्ने स्थानमा सारिएको असन्तुष्ट स्थानीयहरुको गुनासो छ ।

बडाध्यक्ष रामकाजी लामिछानेले आफ्नो घर पायक वडा कार्यालय सारेको स्थानीयहरुको आरोप छ भने सो वडाका सदस्यहरुले पनि आफूहरुलाई झुक्याएर निर्णयमा हस्ताक्षर गराएको गुनासो गरेका छन् । प्रहरीको समन्वयमा वडा कार्यालयका कर्मचारी आफैले वडा कार्यालय बन्द गर्ने र बिवाद समाधान नभएसम्म वडाबाट कुनै सेवा प्रवाह नगर्ने सहमतिपछि वडा कार्यालयका कर्मचारीहरुले आइतारदेखि वडा कार्यालय बन्द गरेका थिए । तर वडाका कर्मचारीले ताला लगाएको केही समयपछि नै स्थानीयहरुले अर्को ताला लगाई दिएका छन् ।

वडा कार्यालय सारेर सदरमुकाम हेटौंडा गएका वडा अध्यक्ष रामकाजी लामिछानेले साविकको वडा कार्यालय एकान्तमा रहेको र सेवाग्राहीलाई सेवा सुविधा नभएकाले वडा कार्यालय सारिएको दावी गरेका छन् ।

LIVE TV