१४ आश्विन २०७५, आईतवार

काठमाडौँ । दश वर्षदेखि जीर्ण रहेको कालिमाटीदेखि टङ्केश्वरसम्मको सडकखण्ड करीब रु एक करोड ८० लाखको लागतमा मर्मत गरिने भएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने उक्त स्थानको करीब आधा किलोमिटर सडकखण्ड भत्केको, खाल्डाखुल्डी बढ्दै गएका कारण सवारी तथा यात्रु दुर्घटनामा पर्ने गरेका थिए । अधिकांश समय व्यस्त हुने उक्त सडकमा यात्रुलाई आवतजावत गर्न समस्या भएकाले एक साताभित्र मर्मत शुरु गरिने समझदारी भएको छ ।

सांसद जीवनराम श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त सडक मर्मत भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सांसद राजेश शाक्य र काठमाडौँ महानगरपालिका–१३ का वडा अध्यक्ष धु्रवनारायण मानन्धरले मुलुक लामो समयदेखि स्थानीय जनप्रतिनिधिविहीन भएका कारण स्थानीय सम्पदा संरक्षण, खानेपानीको व्यवस्थापन, सडकलगायत क्षेत्रको विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

स्थानीय समाजसेवी रामशरण डङ्गोल लगायतले करीब तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सडकमा पैदलमार्ग, ढल व्यवस्थापन र कालोपत्र गरिने जानकारी दिनुभयो ।

LIVE TV