१४ आश्विन २०७५, आईतवार

भगतराम चौधरी

बाँके । माओवादी सशस्त्र संघर्षका क्रममा दुई हजार बढी नागरिक वेपत्ता पारिए । तत्कालिन सरकारबाट मात्र १ हजार तीन सयभन्दा बढी वेपत्ता पारिएका र द्वन्द्वरत् पक्ष माओवादीबाट करिब एक हजार नागरिक वेपत्ता भएको तथ्यांक छ । अहिलेसम्म वेपत्ता पारिएकाको अवस्था न राज्यले भन्न सकेको छ, नत परिवारको सम्पर्कमा नै आएका छन् । बाँकेका वेपत्ता परिवार अहिले पनि आँशुको धारा बगाउन विवश छन् ।

सशस्त्र द्वन्द्व अन्त्य भएको १३ वर्ष वितिसक्यो । २ हजार २ सय ८९ नागरिक वेपत्ता पारिए । द्वन्द्वरत् पक्ष माओवादीको मूल नेतृत्व तत्कालिन नेकपा एमालेसँग एकीकृत हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा रुपान्तरण भएको छ । नेकपा अहिले दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दैछ । तर, बाँकेका लालबहादुर डाँगी आफ्नै घरबाट अपहरणमा परेको १५ वर्ष वितिसक्दा पनि उनको अवस्था अज्ञात नै छ । विक्रम संवत् २०६० साल असोज २ गते डाँगी तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका थिए । १५ वर्षसम्म सम्पर्कमा नआएपछि घर फर्कने आशा मार्दै परिवारले हिन्दूधर्म अनुसार कुशको प्रतिमा बनाएर उनको अन्त्येष्टि भर्खरै गरेको छ ।

अहिले लालबहादुरकी पत्नि र दुई छोरा क्रियामा बसेका छन् । सरकारले लालबहादुरको मृत्यु भएको कुनै प्रमाण दिन नसकेपनि राहत स्वरुप १० लाख रुपैयाँ र काज क्रिया खर्च दिएको छ । डाँगी परिवार अझै लालबहादुरको मृत्यु भएको तथ्य खोज्दैछन् । लालबहादुर एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता एक हजार भन्दा बढी नागरिक अहिलेसम्म पनि वेपत्ता छन् । वेपत्ता भएकाको खोजीका लागि वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन भएपनि आयोगले सन्तोषजनक काम गर्न सकेको छैन । आयोग भन्छ, सरकारले काम गर्न दिएन । धेरै लालबहादुरहरुका परिवारको आशु थाम्न सरकारले कहिले जिम्मेवारी देखाउला ? प्रश्न गर्छन, पीडित ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV