१४ आश्विन २०७५, आईतवार
  • सन्तोष काफ्ले

सुनसरी । हतियारधारी भारतीय अपराधिक समूहद्वारा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई गृहमन्त्री रामबहादुर थापाले रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

सुनसरीको हरिनगार गाउँपालिका २ भुटाहामा रहेको खुर्सिदको घरमै पुगेर गृहमन्त्री थापाले आइतबार खुर्सिदकी श्रीमती खोदिजा बेगमलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले चेकसँगै शहीद प्रमाणित गरेको पत्र समेत हस्तान्तरण गर्नुभएको थियो । गत असोज ४ हत्या गरिएका खुर्सिदलाई असोज ५ गते वसेको मन्त्रिपरिषदको वैठकले शहीद घोषणा गर्दै नगद १० लाख दिने निर्णय गरेको थियो ।

चलानी नम्बर ६६९ को सो पत्रमा मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार शहीद घोषणा गरिएको उल्लेख छ । पत्रमा गृह मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ज्ञवालीले हस्ताक्षर गर्नु भएको छ । चेक तथा शहीद प्रमाणपत्र हस्तान्तरणसँगै आयोजित श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै गृहमन्त्री थापाले हत्यारालाई चाँडै पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सरकार मुस्लिम समुदायको सुरक्षाको सवालमा गम्भीर भएको समेत बताउनु भयो । मन्त्री थापाले हत्यारा जोसुकै भए पनि कानुनी कारबाही गर्ने बताउँदै खुर्सिद परिवारलाई ढुक्क रहन आग्रह समेत गर्नुभयो ।

मन्त्री थापासंगै खुर्सिदको परिवार भेट्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसंगै प्रदेशका मन्त्री तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

गृहमन्त्री थापा आफैं घर पुगेर सरकारले घोषणा गरेअनुसार १० लाखको चेक हस्तान्तरण गर्दै हत्यारालाई चाडैं कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेपछि न्याय पाउनेमा खुर्शिद परिवार ढुक्क भएको पाइएको नेकपाका नेता तथा पूर्व राज्यमन्त्री जाकिर हुसेनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV