१४ आश्विन २०७५, आईतवार

स्कोप्ज । ग्रीससँग लामो समयदेखि चलिआएको विवाद सुल्झाउने उपाय स्वरुप म्यासेडोनियालाई उत्तरी म्यासेडोनिया नामकरण गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार मतदान हुँदैछ । साथै, यो चुनावले नेटो र युरोपेली युनियनको सदस्यताका लागि म्यासेडोनियालाई बाटो खुला हुनेछ ।

सन् १९९१ मा छुट्टै राष्ट्रको मान्यता पाएसँगै म्यासेडोनियाले पहिचानका लागि सङ्घर्ष गरिरहेको छ । युगोस्लाभियाबाट टुक्रिएर म्यासेडोनिया बनेको थियो ।

म्यासेडोनिया नाम राख्नासाथ आफ्नो मुलुकको प्रान्तको नामसँग मिल्दोजुल्दो भएको जनाउँदै ग्रीसले बिरोध गरिआएको छ । ग्रीसको उत्तरी भागमा अद्यापी म्यासेडोनिया प्रान्त छ ।

नामको विषयमा रहेको यो विवाद नसुल्झेको तीन दशक भइसक्यो । दुबै मुलुकले म्यासेडोनियासँग भावनात्मक र ऐतिहासिक सम्बन्ध रहेको दबी गरिरहेका छन् ।

गत जुन महिनामा म्यासेडोनियाका नयाँ प्रधानमन्त्री जोरान जाएभ र उहाँका ग्रीसेली समकक्षी अलेक्सिस चिप्रासबीच म्यासेडोनियाले नाम परिवर्तन गरेमा युरोपेली युनियन र नेटोको सदस्यतामा ग्रीसले कुनै अबरोध नगर्ने सहमति भएको छ । आइतबार, यो सम्झौताको पक्ष वा विपक्षमा मतदान हुनेछ ।

अर्को मुलुकको अनुरोधमा मुलुकको नाम नै परिवर्तन स्वीकार्य नहुने केही मतदाता र दलहरुको धारणा छ ।
पश्चिमा मुलुकसँगको भावी सम्बन्ध र त्यहाँको सम्बन्धबाट मुलुकमा आउन सक्ने आर्थिक समृद्धिको आशा धेरै जनतामा पलाएको छ । युरोपेली क्षेत्रको म्यासेडोनिया आर्थिक रुपमा कमजोर र गरिब छ ।

“हामी सबैलाई यो सम्झौता ठीक हो जस्तो लाग्दैन, तर युरोपेली युनियन र नेटोसँगको सम्बन्ध हाम्रा लागि निकै महत्वपूर्ण हुन थालेको छ, त्यसैले अघि बढ्नुको विकल्प छैन,” २८ वर्षीय मतदाता अबेडिन मेमेटीले बताउनुभयो ।

हुनत यो जनमत सङ्ग्रह बाध्यकारी होइन, तर बहुमतले “हुन्छ” भनेमा त्यसले संसदलाई संविधान संशोधनमा राजनीतिक जनादेश प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV