१४ आश्विन २०७५, आईतवार

घोराही । सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत घोराहीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही– १४ नयाँ बजारमा रु २६ करोड ७७ लाखको लागतमा सो सभागृह निर्माण गर्न लागिएको हो ।

सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ । हालसम्म सो सभागृहको ३० प्रतिशत काम सकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । सभागृह निर्माण बङ्गलामुखी गौरी, पार्वती जेभी ललितपुरले गरिरहेको छ । एक हजार व्यक्ति अटाउने सो भवन तीन तलाको हुनेछ ।

सभागृह निर्माणका लागि उद्योग वाणिज्य सङ्घले २०६९ सालको महोत्वसबाट रु ५१ लाख तथा २०७२ सालको महोत्सवबाट रु २५ लाख सङ्कलन गरेको थियो । सभागृह निर्माण ३० महिनामा सक्ने सम्भौता भएको थियो । उन्नाइस कट्ठा १७ धुरमा फैलिएको उक्त सभागृहको शिल्यान्यास २०६९ सालमा गरिएको हो । सभागृह निर्माणको सम्भौता २०७४ असार ३० गते भएको हो । सभागृह नहुँदा ठूला कार्यक्रम आयोजना गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV