१४ आश्विन २०७५, आईतवार

काठमाडौं । किराँत राई यायोक्खाको कार्यवाहक अध्यक्ष दिवस राईले किराँत प्रदेश नामकरण जातीय नभएर इतिहास र सभ्यताको माग भएको  बताएका छन् । काठमाडौं कोटेश्वरस्थित सुम्निमा हलमा भएको किराँत राई विद्यार्थी उपत्यका १० औं सम्मेलनलार्ई उद्घाटन गर्दै  किराँत शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको हुनाले  किराँत प्रदेश नामकरण जातीय नभएर इतिहास र सभ्यताको माग भएको बताएका हुन् ।

बाइसे-चौबिसे राजाहरूको अन्त्य गरेर केन्द्रीकृत राज्य बनाउने अभियान्ता पृथ्वीनारायण शाह पनि किरातीहरुको सभ्यताहलाई हटाउन नसकेको बताउँदै १ नम्बर प्रदेश नामकरणको लागि अन्तिम धक्का दिन तयार रहन प्रदेशवासीहरूलाई  आव्हान समेत गरे । प्रदेशको नामबारे मुख्यमन्त्री शेरधन राईले परामर्श सुरु गरेको बताउँदै किराँत प्रदेश चाहने सम्पूर्ण प्रदेशवासीहरूले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेका हन् ।

हिजो पृथ्वीनारायण शाहले समेत वल्लो किराँत पल्लो किराँत र माझ किराँत भनेर स्वीकार गरेको भूगोल र इतिहासलाई आज पुन नामांकन गर भनेर आफूहरूले माग अगाडि सारेको राईको दाबी छ । उनले भने ‘नेपालको इतिहासले गौरव गर्न लायक कुनै इतिहास छ, भने किराँत सभ्यता र किराँत इतिहास छ ।’ मुलुकको समग्र इतिहास सभ्यतालाई बचाउनका लागि भए पनि किराँत प्रदेश नामकरण गर्नुपर्ने राई जोड छ  ।

उक्त प्रस्ताव लिएर देशको स्थापित सबै पार्टीका नेताहरू, प्रधानमन्त्री, प्रदेशको मुख्यमन्त्री, दलका नेताहरू, प्रदेश सभा सदस्य लगायत सबैसँग भेटेर प्रस्ताव बारे जानकारी गराइसकेको राईले बताए । राईले एक नम्बर प्रदेशको नाम किराँत राख्न खस आर्य समुदायसँग पनि सहकार्य भएइरहेको बताए ।

भूगोलमा जनप्रदर्शन, धर्ना, विज्ञहरूसँगको भेटघाट, नेता तथा सरकार प्रमुखसँग भेटघाट, प्रदेश सभा सदस्यहरूसँग समन्वय लगायतको कार्यक्रम लिएर प्रदेशमा केन्द्रित हुनुपर्ने राईको भनाइ छ । राजनीतिक दल, सामाजिक संस्था, यायोक्खाका सम्पूर्ण भातृसंगठनहरूलाई केही समय भूगोलमै केन्द्रित हुन आव्हान गरेका हुन् ।

सोही कार्यक्रममा किराँत राई विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले किराँत प्रदेश नआएसम्म युवा विद्यार्थीहरू आन्दोलित हुनुपर्ने बताए । किराँत नामकरण नगरिए सशक्त र दीर्घकालीन आन्दोलनको तयारीमा लाग्नुपर्ने पूर्व अध्यक्ष राईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV