१३ आश्विन २०७५, शनिबार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाई बहुमत सरकार आफ्नैबाट आलोचित हुन थालेको छ । सरकार गठनका क्रममा प्रतिपक्ष समेत मौन बन्न विवश थिए । सरकारको सातमा महिनामा वागमतीमा धेरै पानी बगे । यो अवधिमा प्रतिपक्षको मात्र होइन, आफ्नैको आलोचनाले असफलतालाई उजागर गर्न थालेको छ ।

अस्थिर सरकारको पीडाले दुईतिहाईको बलियो सरकारबाट धेरै आशा गर्नु अस्वभाविक थिएन । तर, केपी ओली नेतृत्वको सरकारको सात महिनाको यात्रा विस्तारै धमिलिंदै गएको छ । आलोचना मात्रका लागि होइन, सरकारका त्रुटीको फेहरिस्त नै बन्न थालेको छ । सुधारका धेरै अपेक्षा घोषणामा मात्र सिमित बन्दा आफ्नै सरकारको आलोचना गर्न नेकपाकै वरिष्ठ नेता मैदानमा उत्रिए । ‘सरकारले काम गर्न सकेन’ यो भनाई कुनै प्रतिपक्षी दलका नेताको होइन । यो भनाई हो नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको ।

दैनिक जीवन प्रभावित हुने महँगी, सडक समस्या समाधानमा सरकार असफल रहेको तथ्य प्रष्ट बनेको छ । बढ्दो अपराध नियन्त्रण, शक्ति पृथकीकरण, संघीयता कार्यान्वयनमा पनि उपलव्धिका साना बाछिटा समेत पर्न सकेन । यसले आम जनतामा निराशा उत्पन्न गरेको छ ।
सरकारका कामको आलोचन, यस्ता छन्ः

  • –कागजमा मात्र सिमित सार्वजनिक यातायात सिण्डिकेट
  • –शान्ति सुरक्षा कायम गर्न असफल
  • –निर्मला हत्या प्रकरणमा कमजोर प्रस्तुती
  • –बलात्कार, हत्या जस्ता जघन्य अपराध प्रभावकारी कदम चाल्न नसक्नु
  • –न्यायालयमा हस्तक्षेप
  • –चर्चित सुन काण्डमा फितलो अनुसन्धान
  • –निजगढ विमानस्थल निर्माणका लागि रुख काट्न हतारो
  • –विकास निर्माणमा कमजोर भूमिका
  • –अस्तव्यस्त सडक
  • –महंगी नियन्त्रणमा असफल
  • –वाइड बडीमा अनियमितता
  • –संघीयता पूर्ण कार्यान्वनयमा असफल

यी र यस्ता धेरै साना–ठूला विषयमा सरकारको सफलता शुन्य प्रायः छ । तर पनि प्रधानमन्त्री तथा मन्त्री भने सरकार सफल रहेको ढोल बजाउन तल्लिन देखिन्छन् । अनि भन्छन्, ‘सरकारको आलोचना गर्ने बेलै भएको छैन ।’

आशालाई निराशामा परिणत नगरियोस् । जनतामा आशाको किरण छर्ने काम नगर्ने हो भने ‘जुन जोगी आए पनि कानै चिरे’को उखान चरितार्थ हुनेछ । अनि राजनीति र व्यवस्थाप्रति नै अविश्वासको खाडल गहिरो बन्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV