१३ आश्विन २०७५, शनिबार

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा त्रिभुवन आर्मी र एनआरटी बराबरीमा रोकिएका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी एनआरटीसँग दुई–दुई गोलको बराबरीमा रोकिएको हो ।

खेलको शुरुवातदेखि नै आर्मीले एनआरटीलाई दवावमा राखेपनि एनआरटीले १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । कर्नरमा प्राप्त बललाई निशान लिम्बुले प्रहार गरेको बललाई रिवाउन्डमा रोजितले गोल गर्न सफल भएका थिए । तर, ३८औं मिनेटमा आर्मीले पाएको पेनाल्टीका सन्तोष तामाङले सदुपयोग गरी खेल बराबरीमा ल्याए ।

पहिलो हाफ एक–एकको बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफमा एनआरटीले पुनः अग्रता बनायो । ६४ औं मिनेटमा एनआरटीका राजेश परियारले वान भर्सेस वानमा गोल गर्दै टिमलाई २–१ को अवस्थामा पुर्याए । खेलको अन्त्यतिर आर्मीले गोलको अवसरहरु सृजना गरे पनि एनआरटीका गोलरक्षक अजित प्रजापतिकै गल्तीमा आर्मीले गोल गर्न सफल भयो ।

अन्तिम मिनेटमा सन्तोष तामाङको फ्रि किक गोलसँगै शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी हारबाट जोगिन पुग्यो । लिगको दोस्रो दिन आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच दिउसो ३ बजेपछि सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV