१३ आश्विन २०७५, शनिबार

शरद आचार्य /प्रकाश सिग्देल

चितवन ।  मुलुककै केन्द्रविन्दु मानिने चितवनमा सार्वजनिक जग्गा अतिक्रमणको समस्या जटिल बन्दै गएको छ । भूमाफियाको चर्को दबदबाका कारण नहर, बस्ती, विमानस्थल जस्ता क्षेत्रमा जग्गा अतिक्रमण तीव्र हुन थालेको छ । प्रशासनिक मौनताले भूमाफियालाई उत्साह थपेको प्रष्ट देखिदैछ ।

आर्थिक प्रलोभन देखाउन माहिर भूमाफिया चितवनमा सक्रिय बनेका छन् । पूर्वपश्चिम राजमार्ग र केन्द्रीय राजधानीबाट नजिक रहेको चितवनका धेरै भूभाग माफियाको चंगुलमा पर्न थालेको छ । यो यर्थाथमा प्रशासन मुक दर्शक बनेको स्थानीयको आरोप छ । सिंचाईका लागि निर्माण गरिएको नहर आसपासका क्षेत्रमा तीव्र जग्गा अतिक्रमण भएका छन् । यतिमात्र नभई भरतपुर विमानस्थलदेखि दक्षिण–पश्चिमतर्फको मानवीय बस्तीका लागि पानी निकास दिन बनाइएको नाला अबका केही महिनामा अवशेष मात्र पनि नरहने चिन्ता उत्तिकै छ ।

माफियाको सक्रियतामा पानी निकासका लागि बनाइएको नाला पुरिन थालेको छ । स्थानीयको विरोधलाई कुनै वास्ता नगरी विक्रम बाबा हाउजिङले नाला पुरेको गुनासोको कतै सुनुवाई हुन सकेको छैन । विक्रम सम्वत २०३५ सालमा मुआब्जा दिएर चितवन सिंचाईले आकासबाट परेको पानीको निकासका लागि ८ मिटर चौडा र करिव ५ किलोमिटर लामो डे«न निर्माण गरेको थियो । यो अहिले पुरिएको अवस्थामा छ ।

बिक्रम बाबा हाउजिङका हरि पन्त लगायतले डोजर लगाएरै नहर पुरेको स्थानीयले गुनासो गरेका छन् जस्ले गर्दा सार्वजनिक जग्गा जोगाउन चुनौती देखिएको स्थानीयको गुनासो छ । सरकारी निकायले ध्यान नदिंदा भूमाफियाको मनोवल क्रमशः बढ्दै गएको पनि स्थानीय बताउँछन् ।

सरकारी निकायको मिलेमतो पनि हुनसक्ने कतिपयको आशंका जीवितै छ । तर, बिक्रम बाबा हाउजिङका सञ्चालक पन्त नक्सामा नाला नभएको तर्क गर्छन् । भूमाफियाहरुको बढ्दो सक्रियतामा न त महानगरपालिका न सरकारका कुनै निकायले चासो दिएका छन् । यदी जग्गा अतिक्रमण बढ्दै जाने हो भने बाँकी रहेका नहर, नाला तथा सार्वजनिक जग्गा नै नरहने स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV