१३ आश्विन २०७५, शनिबार

काठमाडौं, १३ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले १०० शैयायुक्त १,००,००० वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेको छ ।

नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । सोसँगै नर्भिकले छिट्टै अति विशिष्ट क्रायो सेवालगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरु गर्ने भएको छ । समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेलि रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको छ ।

समारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको, सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

नर्भिकका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. यादवको निजी हस्पिटलहरुलाई पनि स्वास्थ्य मन्त्रालयकै परिवारिक सदस्यका रुपमा व्यवहार गरिने र तिनलाई सरकारको सम्पत्तिका रुपमा हेरिने प्रतिबद्वत्ताको खुलेर प्रशंसा गरे ।

सो अवसरमा १०० शटयायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै सर्वोत्कृष्ट मध्यको एक हस्पिटल बनाउने प्रतिबद्धता पनि चौधरीले गरे ।

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शनिबारका दिन अर्थात् आजैका दिन पर्न गएको छ । विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ शकलाई स्पर्श गर्न गइरहेको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ । सुर्ती तथा सूर्र्तीजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् ।

अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा “मेरो मुटुः तपाईको मुटु ” रहेको छ । यसले मानव जीवनका लागि मुटुको महत्व कति छ भन्ने दर्साउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV