१३ आश्विन २०७५, शनिबार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउने नेपाली अडान विश्वसामू प्रस्तुत भएको छ । दुई ठूला सदस्य राष्ट्रको तनावमा अल्झिएको सार्क सक्रिय पार्नु अध्यक्ष राष्ट्रको हैसिएतमा रहेको नेपालको काँधमा छ । अन्तर्राष्ट्रिय फोरममा जोडतोडका साथ सार्क सक्रिय पार्ने नेपाली अभियानमा सदस्य राष्ट्रहरुको साथ आवश्यक छ ।

सार्कका दुई ठूला सदस्य राष्ट्र भारत र पाकिस्तान स्थायी शत्रुका रुपमा उभिएका छन् । सार्कको वडापत्रमा एक राष्ट्रले मात्र बैठकमा सहभागी नहुने निर्णय गरे बैठक बस्न नसक्ने उल्लेख छ । यी दुई राष्ट्रको शत्रुतापूर्ण व्यवहार संयुक्त राष्ट्रसंघको महासभाका क्रममा भएको सार्क विदेशमन्त्री स्तरीय ‘साइडलाइन’ वार्तामा समेत देखियो । अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलाएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच तिक्तता प्रष्टै देखियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज मन्त्रिस्तरीय बैठकको केही बेरमै बाहिरिएकी थिइन ।

त्यसबीचमा पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले सदस्य राष्ट्रहरु तयार रहे जुनसुकै बेला शिखर सम्मेलन गर्न आफूहरु तयार रहेको बताए । उनले भारततर्फ लक्षित गर्दै एउटा देशका कारण सार्क संकटमा परेको अरोप लगाउन भ्याएका थिए । भारती विदेशमन्त्री स्वराजले पाकिस्तानतर्फ लक्षित गर्दै आतंकवादको जोखिम नहटेसम्म सार्कमा उच्चतहको आवद्धता प्रभावकारी नहुने दोहो¥याएकी थिइन् ।

यी दुईको वाकयुद्धले सार्कलाई अन्योल बनाउँदै गएको छ । यद्धपि संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्कलाई सक्रिय बनाउन चाहेको अभिव्यक्ति जिम्मेवारपूर्ण छ ।

दुई देशको द्वन्द्वले किचोलेको सार्कको विकल्प नहुने नेपाली अडान कायमै छ । भारतले सार्कको विकल्पमा विमस्टेक उभ्याउन खोजेको तर्कहरु आइरहँदा नेपालले अन्तर्राष्ट्रिय फोरममै सार्कको अडान राखेर कुटनीतिक पहललाई जवरवस्त उभ्याएको तर्कहरु आउन थालेको छ ।

LIVE TV