१३ आश्विन २०७५, शनिबार

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान शुरु गरिएको छ ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान शुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि उपमहानगरपालिकाले अभियान शुरु गरेको उपमहाननगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । “जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन शुरु गरेका हौँ”, उपप्रमुख थापामगरले भन्नुभयो ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन उपमहानगरपालिकाले एक हप्तादेखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन शुरु गरिएको उहाँले बताउनुभयो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन शुरु गरेपछि पैदलयात्रु तथा स्थानीय पनि हर्षित भएका छन् ।

 

फुटपाथ अतिक्रमण गरी अव्यवस्थित रूपमा राखिएको ठेलाका कारण पैदलयात्रुलाई हिँड्नसमेत कठिनाइ भएकाले अभियान शुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “फुटपाथ पसलका कारण दुर्घटनासमेत निम्त्याउन थालेपछि यसलाई हटाउन शुरु गरेका हौँ ।” रासस

LIVE TV