१२ आश्विन २०७५, शुक्रबार

काठमाडौं । सरकारी संस्थानहरुले आजदेखि काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा खोलिएका सुपथ मूल्य पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुने छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयोजन गरेको सहुलियत मूल्य पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थान सहभागि छन् । विभागमा दर्ता भएका सहकारीले पनि आफ्नै तरिकाले सुपथ मूल्य पसल सञ्चालन गरेका छन् । यसरी सञ्चालित पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट दिने छन् । रामशाहपथमा पसलको शुभारम्भ गर्दै आपूर्तिमन्त्री मातृका यादवले सबै पसल सुपथ हुनुपर्नेमा जोड दिए ।

के–केमा कति छुट ?

साल्ट ट्रेडिङ कर्पोरेशन

  • – नुनमा प्रतिकिलो २ र चिनीमा ५ रुपैयाँ छुट

नेपाल खाद्य संस्थान

  • – सोना मन्सुली, जिरा मसिनो र गोरखनाथ चामलमा ५ तथा बास्मती चामलमा १० रुपैयाँ छुट
  • – जुम्ली सिमी र तिते फापरमा १० रुपैयाँ छुट
  • – घटस्थापनादेखि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्रामा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट
    दुग्ध विकास संस्थान
  • –घ्यूमा प्रतिलिटर ५० र पनिरमा प्रतिकेजी २० रुपैयाँ छुट
  • – बटर, दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिममा पनि केही छुट
    सहकारी पसल
  • – दाल–चामलमा ३ प्रतिशत छुट
  • – घ्यू–तेलमा प्रतिलिटर ३ रुपैयाँ छुट
  • – पाँच लिटर खरिद गरेमा १ सय ५० रुपैयाँ छुट
  • – चिनी (भ्याट बाहेक) ५७ रुपैयाँ, मसलामा प्रतिकेजी २० रुपैयाँ छुट

कालीमाटी, कोटेश्वर, टेकू, रामशाहपथ र सतुङ्गलमा खोलिएको पसलले उपत्यकाबासीलाई सेवा दिन संभव छैन । केही छुट लिन आवत–जावतका लागि थप खर्च गर्नुपर्ने अवस्थाले उपभोक्तलाई राहत नपुग्ने भएकाले यस्ता सुपथ मूल्य पसलको क्षेत्र विस्तार जरुरी छ । केही छुट भन्दै यि पसलले कमसल सामग्री उपलब्ध गराउँछन् कि भन्ने उपभोक्ताको आशंका पनि चिर्नुपर्ने छ ।

 

LIVE TV