२७ भाद्र २०७५, बुधबार

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य स्थल सौराहा जाने सडक निर्माण भएपछि पर्यटन व्यवसायीहरु हर्षित बनेका छन् । सौराह प्रवेश गर्ने मुख्य राजमार्गको चोक टाँडी बजार देखि चित्रसारी पुल हुँदै सौराह बजार निस्कने सडक पिच भएसंगै पर्यटन ब्यवसायी खुसी भएका हुन् ।

बिगतमा सडक भत्किएर हिलो र धुलाम्मे हुँदा सौराह जाने आउने पर्यटकलाई निकै समस्या हुने गरेको थियो । पर्यटकीय स्थल सडकको अवस्थाले पर्यटकहरुमा पनि नकारात्मक सन्देश जाने अवस्था रहेकोमा अहिले भने पर्यटकहरुका लागि समेत सडक सुविधाजनक भएको क्षेत्रीय होटल संघ सौराहका महासचिव राममणि खनालले बताउनु भयो ।

सौराहबाट कुमरोज हुदै राप्ति तिरैतिर चितवन राष्ट्रिय निकुञ्जको किनारबाट लोथरसम्म जान मिल्ने सडक समेत सडक डिभिजन कार्यालयले निर्माण गरेको छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेटमा सौराहादेखि कुमरोज कठार हुँदै भण्डारा लोथरसम्म पर्यटन मार्ग निमार्ण भएको र करिव ९ किलोमिटर बढि सडक पिच भईसकेको सडक डिभिजन कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झाको भनाई छ ।

सडक पिच बनेपछि जिप सफारी गर्ने पर्यटकहरुका लागि ब्यवसायीले त्यही मार्ग प्रयोग गर्न थालेका छन् । यो सडक निमार्ण भएपछि स्थानीय आदिवासी समुदायको रहन सहन अवलोकन गर्न चाहने पर्यटक र जिप सफारीमा रमाउन चाहने पर्यटकलाई त्यही मार्ग प्रयोग गरी जिप सफारी गराईएको महासचिव खनाल बताउनु हुन्छ ।

त्यो सडक बनेपछि कुमरोज आसपासका स्थानीयहरु निकै खुसी भएका छन् भने कुमरोज सामुदायिक वनमा हात्ती चढाउने ब्यवस्था समेत भएको छ । कुमरोजमा हात्तीनै राखेर निकुञ्जले पर्यटकका लागि यस्तो सेवा प्रदान गरेको छ । यो सडक पिच सम्पन्न भएसंगै सौराहको पर्यटनमा थप टेवा पुग्ने ब्यवसायीहरु बताउछन् ।

LIVE TV