२७ भाद्र २०७५, बुधबार

एजेन्सी, २७ भदौ । श्रीलंकामा गृहयुद्ध समाप्त भएको १० वर्ष वितिसक्दा पनि वेपत्ता भएकाहरुको कुनै अत्तोपत्तो छैन । तमिल विद्रोहीसँगको युद्धका क्रममा हजारौं वेपत्ता भएका थिए ।

अलग देशको माग गर्दै तमिल विद्रोहीहरुले भिलापुल्लई प्रभाकरणको नेतृत्वमा २६ वर्षसम्म श्रीलंकाको सरकारविरुद्ध युद्ध लडेका थिए । सन् २००९ मेसम्म श्रीलंकामा गृहयुद्ध चल्यो जसमा करिव एक लाख मानिस मारिएको अनुमान गरिएको छ भने वेपत्ता पारिएकामध्ये करिव २० हजार अहिले पनि वेपत्ता छन् ।

श्रीलंकाली सेनाले कयौंलाई गैरकानूनी ढंगमा मारेको आरोप छ तर सरकारले भने यसको खण्डन गर्दै आएको छ । वेपत्ता पारिएका परिवारका सदस्यहरु धेरै वर्षदेखि सरकारसँग न्यायको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरु वेपत्ता भएका आफ्ना आफन्तहरुलाई के भयो, कहाँ छन् जान्न चाहन्छन् तर अहिलेसम्म उनीहरुलाई आफ्नो प्रश्नको सन्तोषजनक उत्तर प्राप्त हुनसकेको छैन । किलिनोची तमिल वद्रोहीहरुको गढ थियो, यो शहर युद्धका समयमा ध्वष्त हुने स्थितिमा पुगेको थियो तर अहिले यहाँको स्थिति सामान्य हुँदा पनि कतिको भने युद्धको घाउ अहिलेसम्म भरिएको छैन ।

तिनीहरु अहिले पनि युद्धका क्रममा वेपत्ता भएका आफ्ना परिवार र आफन्तहरुको प्रतीक्षामा बसेका छन् । सेनाले विद्रोहीहरुसँग सम्बन्ध भएकाहरुलाई आत्मसमर्पण गर्न चेतावनीका साथ माफी दिने वचन दिएका थिए र धेरैले आत्मसमर्पण पनि गरेका थिए । करिव तीन दशक सम्म चलेको युद्धमा करिव २० हजार वेपत्ता भएका थिए जसमा अधिक तमिलका थिए ।

किलिनोचीमा वेपत्ता पारिएका परिवारको सदस्यहरु भने वेपत्ताहरु नफर्केसम्म शान्ति कायम नहुने र सवै घर फर्केपछि मात्र सहि अर्थमा लडाईं समाप्त हुने धारणा राख्दै आएका छन् । उनीहरुले न्यायका लागि आफ्नो अन्तिम साससम्म पनि पछि नहट्ने प्रतिबद्धता पनि व्यक्त गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV