२७ भाद्र २०७५, बुधबार
  • सरिना मरासिनी,

रुपेन्देही, २७ भदौ । आन्तरिक राजस्व कार्यालय भैरहवाले विचाराधीन नक्कली अन्तशुल्क स्टिकर सम्बन्धी मुद्दाको अन्तिम फैसला सुनाएको छ ।

कार्यालयले फैसला सुनाउदै नक्कली स्टीकर सहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला गरेको छ । नक्कली स्टिकर बारे राजस्वले विगत ५ महिनादेखि मुद्दा अनुसन्धान गरिरहेको थियो । राजस्वका अनुसार विनोदकुमार सिंह, मोहम्मद आलम गद्दी, कामेश्वर महतो र कुशेश्वरप्रसाद शाह गरी चार जनालाई एक वर्ष कैद तोकिएको छ । उनीहरुलाई प्रतिव्यक्ति जनही २ करोड ९ लाख २७ हजार जरिवाना समेत तोकिएको छ ।

विनोदकुमार भारतीय नागरिक हुन् । अन्य तीन जना नेपाली नागरिक हुन् । कुशेश्वर फरार छन् । यस्तै समसुद्धिन मुसलमान र भवानीप्रसाद उप्रेतीलाई ६ महिना कैद फैसला गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १ करोड ४ लाख ६३ हजार जरिवाना तोकिएको छ । समसुद्धिन पनि भारतीय नागरिक हुन् ।

६ मध्ये ५ जनालाई जिल्ला कारागार भैरहवा चलान गरिएको छ भने फरार रहेका कुशेश्वरको खोजी भइरहेको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV