२७ भाद्र २०७५, बुधबार

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिद्धथान सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन प्रेरणा दिँदै वनका उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गरेको छ । एक वर्षमा प्रत्येक घरधुरीले बाल्ने दाउराको लागतभन्दा ग्यास नै सस्तो पर्न जाने भएकाले सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दयमन्ती थापाले बताउनुभयो ।

सोहीबमोजिम सामुदायिक वनले आफ्ना १४० धरधुरीलाई ग्यास चुलो वितरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई एक÷एकवटा ग्यास चुलो वितरण गरिएको बताउनुभयो ।

सामुदायिक वनका उपभोक्ताले वार्षिक १५ देखि ३० भारी दाउरा खपत गर्ने गर्छन् । ‘‘खाना पकाउन बर्सेनि वनमा ठूलो सङ्ख्यामा रुख काट्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘‘यसरी बर्सेनि रुख काट्दा वन नै सकिने अवस्था आएपछि ग्यास चुलो वितरण गरेका हौँ ।’’

बुकिङ कार्य शुरु

होटल निर्माण सम्पन्न नहुँदै बुकिङ हुने क्रम शुरु भएको छ । तनहँुको बन्दीपुरस्थित टुँडिखेल नजिक निर्माणाधीन रहेको सुविधासम्पन्न होटल निर्माण सम्पन्न नहुँदै कोठाहरु बुकिङ हुन थालेको हो । हाल मगर भिलेज सञ्चालन गर्दै आएका वैश गुरुङको करीब आठ करोडको लागतमा होटल दरवार हिमालय निर्माण भइरहेको छ ।

होटलका १५ कोठा आगामी असोजसम्म सञ्चालनमा आइसक्ने जनाएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो, ‘‘केही कोठाहरु अग्रिम बुकिङ भइसकेका छन् ।’’ बन्दीपुरमा असोज महिनादेखि पर्यटकीय चहलपहल शुरु हुन्छ । “फ्रान्स, जर्मनीलगायतका देशका पर्यटकले कोठा बुकिङ गरिसकेका छन्” उहाँले भन्नुभयो ।

आगामी चैत्रभित्र थप १५ कोठा तयार हुनेछ । उक्त अवधिसम्म पहिल्यै बुकिङ गर्नेलाई ५० प्रतिशत छुटसमेत व्यवस्था गरिएको सञ्चालक गुरुङ जानकारी दिनुभयो । उहाँका अनुसार होटलको सबै काम सम्पन्न हुँदा करीब आठ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

होटलमा विदेशीलाई एक रातको कोठाको १४० डलर शुल्क तोकिएको छ भने स्वदेशीलाई सहुलियत दरमा कोठाहरु उपलब्ध गराइने गुरुङ्गले जानकारी दिनुभयो । जाडोयाम शुुरु हुने बेलामा बन्दीपुरमा विदेशी पर्यटकको बढी चाप रहन्छ । बन्दीपुरमा वनभोजका लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गर्दछन् । बन्दीपुरमा सञ्चालनमा रहेका साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टेमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV